सेती नदीमा वर्षा एवं हिमपहिरो कारणले आकस्मिक बाढी

Sunday, May 6, 2012


आज बिहान ९ः५५ बजेको समयमा कास्की जिल्ला माछापुच्छ«े गा.वि.स. वडा नं. ९ स्थित सेती नदीमा वर्षा एवं हिमपहिरोको कारणले आकस्मिक आएको बाढीले बगाई पछिल्लो जानकारी अनुसार १३ जनाको असामयिक निधन, कैयौं वेपत्ता र ठूलो धनमालको क्षति भएको दुःखद घटनाले मलाई मर्माहत तुल्याएको छ । नेपाल सरकारको तर्फबाट म यस घटनामा ज्यान गुमाएकाहरु प्रति हार्दिक श्रद्वाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारमा हार्दिक समवेदना व्यक्त गर्दछु । सो घटनाको जानकारी प्राप्त भए लगत्तै उक्त घटनाबाट प्रभावितहरुको खोजतलास एवं उद्धारकालागि स्थानीय प्रशासन, प्रहरी र सेनालाई तत्काल परिचालन गरिएको र तत्पश्चात् जिल्ला सदरमुकामबाट सेनाको हेलिकप्टर पठाई थप उद्धार र खोजतलासको काम सञ्चालन भइरहेको छ । यस घटनाबाट प्रभावित हुनसक्ने थप स्थानहरुको पहिचान गरी त्यहाँ बसोबास गरिरहेकाहरुलाई पूर्वतयारी अवस्थामा रहन सूचित गरिएको एवं स्थानीय सुरक्षाकर्मीहरुलाई त्यस्तो अवस्था आईपरेमा तत्काल उद्धारकार्य सञ्चालन गर्न आवश्यक निर्देशन दिइसकेको छ । पछिल्लो जानकारी अनुसार उक्त नदीमा आएको बाढीको प्रवाह क्रमशः कम हुँदै गइरहेकोले स्थिति सामान्य हुने अनुमान गरिएको छ । यस सम्बन्धमा सर्वसाधारणलाई गृह मन्त्रालयले नियमित रुपमा थप जानकारी उपलब्ध गराउने व्यवस्थाको लागि निर्देशन समेत गरिसकेको छु ।

स्थानीय व्यक्तिको सक्रिय सहयोग तथा सुरक्षाकर्मीहरुको परिचालनबाट खोजतलास र उद्धारकार्य हालसम्म पनि जारी नै रहेको, प्रतिकार्य टोली गठन गरी स्थितिलाई थप बिग्रन नदिन आवश्यक निर्देशन दिनुका साथै गृह मन्त्रालयमा रहेको राष्ट्रिय आपत्कालीन संचालन केन्द्रलाई स्थितिको सुक्ष्म अनुगमन गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नियमित जानकारी उपलब्ध गराउन आवश्यक निर्देशन भइसकेको वर्तमान परिस्थितिमा सबै जना संयमित रही नेपाल सरकारबाट भै रहेको उद्धार तथा खोजतलास कार्यलाई सहयोग गरिदिनुहुन हार्दिक आग्रह गर्दछु । यस कार्यमा स्थानीयवासीले तत्काल प्रदान गर्नुभएको सहयोगको सराहना गर्दै वहाँहरुबाट थप सहयोगको समेत अपेक्षा राखेको छु । साथै, यस दुःखद् क्षणमा नेपाल सरकारलाई सहयोग पु¥याइ रहनुभएका सम्पूर्ण राजनीतिक दलहरु, मानवाधिकारकर्मी, सञ्चार जगत एवं उद्धारकार्यमा संलग्न हुने राष्ट्र सेवकहरुलाई आफ्नो सक्रियता जारी राखिराख्न आग्रह गर्दछु ।

प्रधानमन्त्री
मिति– २०६९।१। २३

0 तपाईंको प्रतिकृया लेख्नु होला ।:

Post a Comment