‘मलाई यो जिन्दगीले कहाँ पुर्यायो, कहिले हँसायो कहिले रुवायो…….।’ रामकृष्ण ढकालले गाएको यो गीतमा जस्तो जिन्दगीले नेपालदेखि मलेसियासम्म पु-याए पनि कहिले पनि हसाएन भीमबहादुरलाई । बरु एकपछि अर्को सपना देखाउँदै तीनै सपना पनि भताभुङ पारेर रुवायो मात्र । दोलखाको कालिञ्चोक गाविस-७ स्थायी घर भएका भीमबहादुर नेवारको पीर-व्यथा उनकै शब्दमा ।
आमाको माया अनि बुबाको स्नेह कस्तो हुन्छ मलाई थाहा छैन । म तीन महिनाको थिएँ रे बुबाको स्वर्गवास हुँदा । चार वर्ष नपुग्दै आमा पनि बित्नुभयो । बाल्यकालमै टुहुरो हुन पुगेको म दाईको संरक्षणमा हुर्किएँ । आर्थिक अवस्था पनि नाजुक हुनाले त्यति पढ्न पनि सकिन । जब १५ वर्षको भएँ कामको खोजीमा काठमाडौँ आएँ । त्यहाँ एउटा फर्निचरमा काम गर्न थाले । काठमाडौँको ठाउँ न हो, के नै कमाई हुन्छ र जेनतेन खान र बस्न मात्र पुग्थ्यो । चार-पाँच वर्ष काठमाडौँमा बस्दा झापा स्थायी घर भएकी अनिता नाम कि एक युवतीसँग चिनाजानी भयो ।
आजको चिनजान, भोलिको प्रेम अनि विवाह पनि भयो । विवाह गरेको एक वर्ष नपुग्दै काठमाडौँमा मेरो कमाइले मात्र दुईजनालाई निवार्ह नहुने भएपछि श्रीमतीकै सहमतिमा विदेश जाने निर्णयमा पुगें । तीन वर्षजति विदेशमा काम गरी कमाएर ल्याउने अनि गाउँमै गएर दुःखसुख गरेर बस्ने सपना बोकी गाउँकै साहुसँग सयकडा पाँच रुपैयाँ व्याज तिर्ने सर्तमा चावहिलस्थित एटलस मेनपावरमा नब्वे हजार बुझाएर मलेसियाको क्वालालम्पुर नजिकै शाहआलमस्थित प्लाष्टिक कम्पनीमा आइपुगेँ । जब कम्पनीमा आएँ तव थाहा पाएँ, कम्पनीमा दैनिक आठ घण्टा भन्दा काम चल्दोरहेनछ । महिनाको चार-पाँच घण्टा मुस्किलले ओभर टाइम आउँथ्यो । ‘नहुने मामा भन्दा कानो मामै निको’ भन्ने सोचेर काम गरिनै रहेँ ।
आज भन्दा भोलि झन्झन् कम्पनीमा काम कम हुँदै गयो भने नेपालमा साहुको व्याज धेरै । दुई वर्षसम्ममा खाइनखाई साहुको ऋण त तिरें तव नाजुक बन्दै गएको मैले काम गर्ने कम्पनी बन्दै भयो । अब के गरौ ? घर जाउँ भने कमाएको केहि छैन, काम गरौ भने कम्पनी पनि बन्द भयो । त्यसैले आफूलाई ल्याउने मलेसियास्थित एजेण्टलाई गुहारें । उसले पनि आवश्यक शुल्कः लिएर मलाई जोहोरवारुस्थित प्लास्टिक कम्पनीमा काम लगाइदियो । कम्पनी ठीकै थियो, वव नयाँ कम्पनीमा आएँ, मेरो मरिसकेको आशा फेरि पलाउन थाल्यो । कमाई पनि राम्रै थियो । खाइपिई बचेको पैसा घरमा श्रीमतीलाई पठाइरहेको थिएँ । तर, त्यो खुसी धेरै दिन टिकेन । एक्कासि मलाई पेट दुख्ने समस्याले सताउन थाल्यो ।
कम्पनीको सामान्य उपचारले निको नभएपछि अलि राम्रो अस्पतालमा गएर उपचार गराउनुपर्ने भयो । मलाई त पत्थरी पो भएछ । डाक्टरले भने- अपरेशन गर्नुपर्छ, त्यसका लागि ६ हजार रिंगेट लाग्छ । मर्नुभन्दा बोहुलाउनु निको ठानी साथीहरुको सहयोग र सरसापट वटुलेर अप्रेशन पनि गराएँ । अनि फेरि केहि दिन आरामा गरेर काममा फर्किएँ । सुरुको कम्पनी छाडेपछि म सँग मलेसिया बस्ने कानुनी आधार थिएन । सधैं डर लागिरहन्थ्यो, कतै पुलिसले पक्रने हो कि भन्ने । तर दैव संयोग म र मजस्ता अवैधानिक विदेशी कामदारका लागि मलेसिया सरकारले घर र्फकने वा यहिँ वैधानिक बनेर बस्ने भन्ने अवसर दियो । यो खुसीको अवसरलाई सदुपयोग गर्दै नेपाल र्फकने र परिवारसँगै बसेर इलम गर्ने कल्पनाले म त्यसै-त्यसै प्रफुलित भएको थिएँ ।
सायद मेरो भाग्यमा खुसी भन्ने लेखेकै थिएन क्यारे, नेपाल गएर घरपरिवारसँगै रमाइ-रमाई काम गर्ने कल्पना पनि तासको घर ढलेझैं ढल्यो । मैले यहाँ पसिना बगाएर खाइ-नखाई जम्मा पारेर नेपाल पठाएको पैसा र मेरो वंश चिनो काखे नानी च्यापेर श्रीमती त अर्कैसँग भागिछ । यो खबर सुन्नासाथ एकाएक रिंगटा लाग्न थाल्यो, आफूले टेकेको जमिनै भासिएजस्तो भयो । उसकै खुसी र हाम्रो उज्वल भविष्यका निम्ति भनेर नै त आफ्नो जन्मभूमि छोडेर सात समुन्द्र तरेको थिएँ । तर आज उसले……. भाग्यको ठगेको यही दुःखीमाथि झन् ठूलो बिपत थपेर गइ । म के लिएर घर जाउँ ? हातमा कौडी छैन, यत्रो वर्षको लगानी पानीमा बगेको म कसरी सहुँ ? म कसरी हेरुँ त्यहाँ पुगेर ? मन सम्हाल्न निकै गाह्रो भयो । तैपनि हरेस खाएर मात्र त केही हुने हैन् । सोचें- अब म घर जान्न, एक वर्र्ष यहीं बसेर काम गर्छु अनि केही रकम कमाएर नेपालमै फर्किएर उद्यम गर्छु ।
वैधानिक हुने भएपछि कम्पनीको साहुले नै मलगायत अरु अवैधानिक नेपाली साथीहरुलाई पासपोर्ट बनाउनका लागि क्वालालम्पुरस्थित नेपाली राजदूतावासमा लिएर गयो । यहाँ पासपोर्ट बनाउनको निमित्त सक्कली नागरिकता चाहिँदो रहेछ । अरु साथीहरुले त घरबाट नागरिकता मगाए । तर म मलेसिया आउने बेलामा नागरिकताको प्रतिलिपि मात्र ल्याएको थिएँ भने सक्कली नागरिकता श्रीमतीलाई नै राख्न दिएको थिएँ ।
अहिले श्रीमतीसँगै नागरिकता पनि हरायो । अब म त्यो कहाँबाट ल्याऊँ ? दूतावासमा कुरा राख्दा सक्कली नागरिकताविना पासपोर्ट दिन मिल्दैन भन्छ । घर जाउँ भने पनि मसँग एक सुको पनि पैसा छैन । यहि काम गरौँ भने पासपोर्ट नहुँदा मलेसियाले काम गर्न दिने कुरै भएन । यतिबेला म चरम निराशा र दोधारको संघारमा छु । यो भाग्य भन्ने चीजले पनि जो दुःखीलाई मात्रै ठग्दोरहेछ पटकपटक । बुबाआमा गुमाए, श्रीमती, सन्तान र यत्रो वर्षको कमाई गुमाएँ । सँगै मर्ने सँगै बाँच्ने कसम खाएकी जीवनसँगिनीले धोका दिँदा आज म प्रवासी भूमिमा अनागरिक भइरहेको छु, आज गरिखान पनि नपाउने गरि अलपत्र परेको छु । बाबुआमा भएको भए सायद कागजात पठाउँथे होला । आज यो प्रवासी भूमिमा म नितान्त एक्लो, असहाय भएको छु, आफ्नै धर्मपत्नीले धोका दिँदा ।
-(मलेसियाको जोहोरवारुमा भरत रिमालले गरेको कुराकानीमा आधारित )
श्रोत: अनलाईन खबर
4 तपाईंको प्रतिकृया लेख्नु होला ।:
hello
Just tried the threaded comments in your post and be informed that it's working :)
Thank you Dilip jee
म श्री एडम्स केभिन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै ठीक आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन
adams.credi@gmail.com: तपाईं रुचि हो यो इमेल मा हामीलाई सम्पर्क यदि हामी, 3% ब्याज दर मा ऋण दिन।.
Post a Comment