उनकी स्वास्नी र मेरा साथीका अमेरिकन दाजु

Saturday, December 3, 2011

अनुप थापा –
च्याप्टर नम्बर १
‘मेरी श्रीमती त अमेरिकामा छ । उसैले पैसा पठाउछे । मलाई त यहाँ निकै मस्ती छ ।’ –  काठमाडौं नयां बानेश्वरमा डान्स बारमा भेटिएका एकजना पत्रकारले वियरको गिलास तान्दै यसरी धाक लगाउदा मलाई पनि मेरी श्रीमती अमेरिकामा भइदिए हुन्थ्यो जस्तो लागेको थियो । तर के गर्नु  ? आफू परियो अविवाहित । विवाह गर्न अहिलेसम्म साइत जुरेन । श्रीमति अमेरिकामा हुने त कहिले हो कहिले । मेरो लागि ति पत्रकारको जस्तो मस्ती त कल्पना गर्नु सिवाय अरु केही पनि थिएन । कल्पना गर्न पैसा लाग्दैन क्यारे । उनको कुरा सुन्दा मैले पनि मनमनै कल्पना गरें उनको जस्तो मस्तीको लाइफ ।
एकटकले बियरको सुनौलो कलर हेर्दै म गमिरहेको थिएं । ति पत्रकारले अझ अगाडि थपे – ‘ महिनाको तीस पैतिस हजार पठाइहाल्छे बुढीले । मैले अफिसबाट पाउने पैसा त मलाई यहां तरुनी फेर्दै मस्ती गर्दा ठीक्क भएको छ । ‘ हुन पनि नेपालका संचारमाध्यममा काम गरेर कति नै पो पैसा आउंछ र ?  मासिक तीन हजारमा समाचार वाचकको जागिर खाइरहेकाहरुको हुल मेरै आंखाले देखेको हो क्यारे । यि पत्रकार अलिक पूराना भएकाले तलब पनि अलिक बढी नै होला । अति बढी भए पनि बीस पच्चिस हजार भन्दा त पक्कै पनि बढी छैन ।
जसो भएपनि यि पत्रकारको हातमा हरेक महिना पचास हजार जती नेपाली रुपैया चाही पर्दो रहेछ । पचास हजारमा यिनले झण्डै मासिक पन्ध्र बीस हजार त सेक्स र रक्सीमा मात्र खर्च गर्छन् । नेपालमा सेक्सको लागि त्यती धेरै पैसा कहा लाग्छ र  ठमेल तिरका होटेलहरुले लिने रेट पाचसयदेखि हजारसम्म त हो नि । रत्नपार्कमै त यि पत्रकार जांदैनन् होला । त्यहा जानेहरुले त एकडेढसय रुपैयामा पनि पाइहाल्छन् । रक्सीको बोतल समाउदै तरुनीका गफ लगाइरहेका बेला उनको फोनमा किर्रर घण्टी बज्यो । ‘बुढीको फोन रैछ अमेरिकाबाट एकैछिन नबोल्नुहोस् है । ‘- उनले सुस्तरी मलाइ भने । अनि उठाए फोन ।
उनले बुढीसंग कुरा गरेको सुन्दा त मलाई लाग्यो उनीजस्ता पत्नीब्रता कलियुगमा कहाँ पाउनु  तर कुरा सुन्दा मात्र यस्तो लागेको हो है । नत्र उनको व्यवहार त कलियुगका कृष्णको भन्दा कम छैन ।
बुढीलाई चांही विश्वासमै राखेका रैछन् यिनले । यिनीहरुबीचको सम्बाद सुन्दा त यस्तो लाग्दै थियो यि मित्रले आफ्नी श्रीमतीलाई बाहेक अरु सबै युवतीलाई दिदी बहिनीको नजरले हेर्छन् । तर फोन राख्न नपाउदै बारमा काम गर्ने केटीको स्कर्टमा हात पुगिहाल्यो उनको । मैले मनमनै सोंचे – बुढी विचरा अमेरिकामा विगत सम्झदै कल्पेर बसेकी होलिन् यता मेरा मित्रको हालत यस्तो छ ।
मेरा मित्र बडो भाग्यमानी । आफूचाहीं हजारौं राधिकाको बीचमा । श्रीमतीचांही सिता नै पाएका हुन् यिनले । यस्तै सोंच्दै थिएं उनको गिलास खाली भइसक्दा मेरो गिलासमा जत्तिको तत्ती वियर । आंखा चिम्लेर स्वाठ्ठ पारिदिएं । अनि खुट्टा नटेक्ने भइसकेका मित्रलाई त्यहीं छाडेर बाहिर निस्किएं ।

च्याप्टर नम्बर २
समयको चक्र न हो । ति मित्रसंग डान्सबारमा दारु खाएको ६ महिनाभित्रै मलाई अमेरिका आउने मौका मिल्यो । अमेरिकाको ठाउमा मान्छेलाई फुस्रदै नहुने । अझ न्युयोर्क त रातभर नसुत्ने सहर । नेपालीहरु पनि हरियो डलर कमाउन उत्तिकै व्यस्त । चाहेको मान्छे भेट्नै मुस्किल । मेरा एकजना साथीको दाजु पर्नेलाई भेटौं भनेको कहिले के मिलेन , कहिले के मिलेन । उनीसंग झण्डै तीनमहिना भेट भएन । तीनमहिनापछि उनको कोठामा जाने मौका मिल्यो ।
दाजु त विवाहित हुन् भन्ने मलाई थाहा थियो । पन्ध्र बर्षको छोरा छ भन्ने पनि मलाई थाहा थियो । तर उनकी श्रीमतीलाई चांही मैले देखेको थिएन । यि पनि चालिसको उमेर त पक्कै काटिसके । तर अमेरिकाको बसाइले हो कि किन हो  ? अलिक भर्खरकै जस्ता देखिन्छन् यिनी ।
उनको अपार्टमेन्टमा पुग्न मलाई धेरै अलमल गर्नुपरेन । अमेरिकामा ठेगाना भएपछि अपार्टमेन्ट पत्ता लगाउन निकै सजिलो छ । त्यसैले उनको अपार्टमेन्टकै ढोकाको घण्टी बजाउन मेरा हात अगाडि बढे । ढोका खोलिन् एकजना अधवैशे युवतीले । युवती को हुन् मलाई थाहा थिएन । मैले ठाने पक्कै यि दाईकी श्रीमती होलिन् । उनी किचनतिर जुस लिन गएको मौका छोपेर मैले दाईलाई सोधें – परिचय पनि गराइदिनुभएन त भाउजुसंग  ? कहिले झिकाउनुभयो र भाउजुलाई  ?
मेरो प्रश्न सुनेर बुढा झस्के । कुरा टार्न खोजेजस्तो गरे । मैले बुझिहालें अधवैंशे युवती नेपालमा भएकी यिनकी श्रीमती होइनन् । अनि मैले सोंधे – दाईले अर्को बिहे गर्नुभयो कि के हो यतैतिर  ?
कुराको चुरो खुल्यो त्यसपछि । उनले भने – ‘ बिहे गरेको त होइन हामी संगै बस्छौं । ‘ अझ विस्तारमा कुरो बुझ्दा यि अधवैशे युवती विवाहित पो रहिछन् । यिनका श्रीमान् नेपालमा नै रैछन् । यहां यिनीहरु संगै बस्दा रैछन् । साथी साथी जस्तो मात्र के भन्नु  संगै बस्ने संगै खानाखाने संगै घुम्ने संगै सुत्ने पनि । जीब्रो नटोक्नुहोला । यिनीहरु विवाहित होइनन् ।
सुरुमा मेरा साथीका यि दाइले यि युवतीलाई हात समातेर रेल चढ्न सिकाएका रे । पछि रेष्टुरेन्टमा खान सिकाएछन् । कहिलेकसो आफैले पनि खुवाएछन् । पछि त धेरै कुरा पो सिकाएछन् यिनले । हिड्न,  डूल्न,  बोल्न,   सुत्न सबै पो सिकाएछन् । उनले भने – ‘ के गर्नु  यिनका बुढा पनि नेपालमा छन् , मेरी बुढी पनि नेपालमा छे ,  दुबैको शारिरिक आवश्यकता पूरा भएकै छ । नेपाल फर्केपछि दुबैजना आफ्नै ठाउमा सेट भइहाल्छौं । ‘
कुरो ठीक हो कि होइन , भन्ने नै छुट्याउन मुस्किल भयो मलाइ त । भर्खर भर्खर अमेरिका आएको बेलामा यस्तो देखेको मलाई पचाउन अलिकति मुस्किल त हुने नै भयो नि ।
च्याप्टर नम्बर ३
अमेरिकामा धेरै नेपालीहरुको जीवन शैली यस्तै रहेको कुराको खुलासा पनि तिनै दाजुले गरे । उनले आफू चोखो बन्न हो कि किन हो यसरी बस्ने आफूमात्र नभएको स्पष्टीकरण दिदै थिए । हिड्ने बेलामा मैले ति दाईलाई सोधे – यिनका बुढा नेपालमा के गर्छन् नि  ?
दाइले कुरा खोले – तपाई पत्रकार भएर पनि चिन्नुहुन्न ? यिनका बुढा पत्रकार त हुन् नि ।
मैले ति पत्रकारको नाम सोध्दा थाहा भयो – यि त नयाँ बानेश्वरमा मसंग वियर लडाउने तिनै पत्रकार मित्रकी बुढी पो रहिछन् ।
कुरा सुन्दा म निकैवेर अवाक भएं । अनि झल्यांस सम्झें नेपालमा रहेका ति पत्रकार बन्धुलाई । यस्ता पो हुंदारहेछन् , कलियुगका राधाकृष्ण ।
( सेक्स एण्ड सिटी एकजना पत्रकारको नियमित स्तम्भ हो अमेरिकामा रहेका नेपालीहरु यो स्तम्भका पात्रहरु हुन् यौन जीवनशैलीका विषयमा लुकेका कैयन कुराहरुको यो स्तम्भमार्फत पर्दाफास हुनेछ अमेरिकामा बसेर फर्किएका स्तम्भकारका पात्रहरु को को हुन् ? पात्रहरु कस्ता कस्ता छन् ? त्यो विषयलाई स्तम्भकारले तपाईहरुसमक्ष पोख्नेछन् विश्वन्यूज  )

0 तपाईंको प्रतिकृया लेख्नु होला ।:

Post a Comment