लेक्स इन नेपाल

Saturday, December 3, 2011

लक्स इन नेपाल भिडियोका लागि नायिका नम्रता श्रेष्ठसँग अन्तर्वार्ता लिँदै लेक्स लिम्बु।

तारा चाम्लिङ- चौध वर्षमै ब्लग लेख्न थाल्नु, युट्युबमा भिडियो अपलोड गर्नु सामान्य नेपालीको हकमा अनौठो नै भन्नुपर्छ। लेक्स लिम्बुले ब्लग लेख्न थालेको पाँच वर्ष भयो। उनको ब्लग बाह्र लाख पटक हेरिएको छ। महिनामा दुई लाख पटक लेक्सका भिडियो युट्युबमा हेरिन्छन्। फेसबुक, ट्विटर र अन्य वेबसाइटमाफर्त कैयौं नेपालीले लेक्सका कुरा पढ्छन्।
'इन्टरनेट त्यो माध्यम हो जहाँ छिरेर संसार चाहार्न सकिन्छ,' बेलायत बस्ने लेक्स सुनाउँछन्, 'हेरक दिन उठ्नासाथ नेपाल पुग्छु।'

संसारभरका खबर चाल पाउन अब औंला दबाए पुग्छ। नजानेको कुरो बुझ्न, ठाँउ पत्तो लगाउन वा दुनियाँलाई आफ्ना कुरा सुनाउन, इन्टरनेट काफी छ। लेक्सले प्रविधि पछ्याउँदै धेरै नेपालीको मन जितेका छन्। खासगरी प्रवासी युवा उनको ब्लग पछ्याउँछन्। विदेशको जीवन, काम र पढाइको चाप, समयको अभाव अनि नेपालबारे ज्ञिज्ञासा। डायस्पोराका धेरै युवाले पढ्न रुचाउने खबर उनकै ब्लगमा हुन्छ। सेलिब्रिटी गसिप, पार्टी, समसामायिक विषय जे पनि हुनसक्छ। लेक्सको विचार छुट्ने त कुरै भएन। कतिपय लेखमा कडा आलोचना आउँछ। दुईचार जनाले त उनको विचारमा सहमत नभएर 'बकवास बन्द गर्' समेत भनेका छन्।


'सबैको प्रतिक्रिया सुनेर केलाउने कोसिस गर्छु,' लेक्स भन्छन्, 'प्रत्येक अनुभवले मेरो गन्तव्यमा नयाँ खुड्किलो थप्छ।'

सात हजार किलोमिटर टाढा बसेर उनी नेपालका समाचार लेख्छन्। 'बेलायत बसेर नेपालबारे कसरी लेख्छौ? आफूले नदेखेको कुरो लेख्ने?' धेरैले उनलाई गर्ने प्रश्न यही हो। तर, कुनै पनि सूचना बाँड्नलाई प्रत्यक्षदर्शी हुनुपर्छ जस्तो उनलाई लाग्दैन। संसार प्रविधिले जोडेको छ। वास्तविक घटनालाई साभार गर्नु कुनै अचम्मको विषय होइन। र, यसलाई उनी बहसको विषय पनि ठान्दैनन्।

बुबा ब्रिटिस लाहुरे भएकाले उनी सानैमा बेलायत पुगे। विदेशीसँग हेलमेल भए पनि उनले नेपाल भुल्न सकेनन्। र त, नेपालमै अल्झे। जन्मथलो नेपाल, कर्मथलो बेलायत। पासपोर्ट बेलायती।
'हरेक देशका नागरिक आफैंमा राजदुत हो,' लेक्स भन्छन्, 'त्यसैले नेपालको प्रवर्द्धन गर्छु।' पछिल्लो समय उनले बेलायतमा आयोजना हुने नेपाली कार्यक्रम प्रवर्द्धन गर्न थालेका छन्। युनिभर्सिटी अफ लन्डनका यी विद्यार्थी यस्ता कार्यक्रममा विभिन्न देशबाट पढ्न आएका सहपाठीलाई निम्त्याउन भुल्दैनन्।
'सामाजिक सञ्चारले मानसिकता बदल्न महत्वपूर्ण भूमिका खेल्छ,' लेक्स भन्छन्, 'त्यसैले इन्टरनेटले एकैसाथ करोडौंमा परिवर्तन ल्याउन सक्छ।'

उनले लाखौं पाठक कमाएका छन्। इन्टरनेटमार्फत उनले सयौं नेपालीलाई लन्डनमा भेला गरेर दुतावासमा नेपाली राजदुतलाई ज्ञापनपत्रसमेत बुझाएका थिए। उनलाई थाहा छ- इन्टरनेटले संसार बदल्ने क्षमता राख्छ। तर, नेपालका धेरै मानिसले अझै प्रविधि उपभोग गर्न पाएका छैनन्। यस्ता उपलब्धिबारे उनीहरू बेखबर छन्। युवाभन्दा बालबालिका यसबाट बढी पीडित हुनेछन्। किनकि इन्टरनेटबिनाको भविष्य अन्धकार छ। विकट गाउँघरका बालबालिकाले यो अवसर पाउने कहिले?
लेक्स यस्ता बालबालिकालाई कम्प्युटर उपलब्ध गराउन लागिपरेका छन्।

केही महिना अघि मात्र उनले साथीहरूको सहयोगमा दुई लाख रुपैयाँ जम्मा गरे। सहयोग जुटाउन भनेजस्तो सजिलो छैन। मेलामा मफिन बेच्नेदेखि सामाजिक भेलासम्म पुग्नुपर्छ। आफ्ना कुरा सुनाउन ब्लग लेख्न थालेका लेक्सले बेलायतबाटै नेपालका बालबालिकाको भविष्यका लागि पैसा जुटाउन थालेका छन्।

यसै सिलसिलामा उनी चाँडै नेपाल आउँदैछन्। र, पछिल्लो पटक नेपाल आउँदा खिचेको भिडियो पनि प्रदर्शन गर्नेछन्। 'लेक्स इन नेपाल' नाम दिइएको प्रदर्शनीमा नेपालको यातायात, संस्कृति र नेपाली सिनेमासम्बन्धी भिडियो देखाइनेछ। युट्युबमा उनले बनाएका 'एकछिन विथ नम्रता' र 'ड्राइभरदाइ' रिलिज भइसकेका छन्। बाँकी भिडियो यही डिसेम्बरभित्र सार्वजनिक गर्ने उनको योजना छ।

स्रोत : नागरिक

0 तपाईंको प्रतिकृया लेख्नु होला ।:

Post a Comment