अमेरिकामा बस्ने नेपालीको वैवाहिक जिवन खतरामा

Friday, December 2, 2011

कृष्णा कुमारी गौतम -

अमेरिकामा बस्ने नेपालीहरुको सन्दर्भमा उनीहरुको वैवाहिक जिवन खतरामा पर्ने समस्या एउटा गम्भीर समस्या बन्दै गएको छ । कैयन नेपालीहरुका लागि सांच्ची एउटा दुखद कथा बन्दै जान थालेको छ , वैवाहिक जिवन । महिला र पुरुषका लागि समान अधिकार कायम हुनुपर्ने आवाज उठिरहदा सन् १९५० देखि अमेरिकामा महिलालाई पनि पुरुष सरह अधिकार दिनेगरी परिवर्तन आएको थियो ।


अमेरिकामा नारी र पुरुषबीचको अधिकारमा खासै फरक छैन । समान अधिकारका साथ नै उनीहरु अगाडि बढेका छन् । तर पारिवारिक असन्तुष्टी भने नेपालको तुलनामा कैयन गुणा बढी देखिन्छ । त्यही असन्तुष्टीका कारण डिभोर्सको क्रम निकै बढ्दो छ अमेरिकामा । अझ एसियाका देशहरुबाट आएर अमेरिकामा बस्नेहरुमा बढेको डिभोर्सको क्रम नेपालीहरुका लागि दुखद खबर हो । किनभने भारत , बंगालादेश, पाकिस्तानबाट अमेरिकामा आएर बस्नेहरुसंगै नेपालीहरुमा पनि यो क्रम बढेको छ ।

मानिसका इच्छा , आकांक्षा, महत्वाकांक्षाका कारण उसले कैयन अवस्थामा गलत र सहीबीचको भिन्नता छुट्याउन सक्दैन । जब एक अर्काबीचको विश्वास धमिलिदै जान्छ, तब लोग्ने स्वास्नीबीचको सम्बन्धमा पनि दरार पैदा हुंदै जान्छ । नेपालको सांगुरो समाजबाट अमेरिकाको खुल्ला समाजमा आइपुग्दा यो दरारले मौलाउने मौका पाउने गरेको छ । एउटा तथ्यांक अनुसार अमेरिकामा झण्डै २ लाखको हाराहारीमा नेपालीहरु बस्दै आएका छन् । जसमध्ये ३५ प्रतिशतमात्र अर्थात् झण्डै ७० हजार बैवाहिक सम्बन्धमा रहेका छन् भने २५ प्रतिशतको अर्थात् झण्डै ५० हजारको त डिभोर्स भइसकेको छ । झण्डै २० प्रतिशत अर्थात् ४० हजारको हाराहारीमा अविवाहितहरु रहेका छन् । त्यो बाहेक झण्डै २० प्रतिशत अर्थात् ४० हजारजति नेपाली बालबालिकाहरु पनि छन् । यो तथ्यांक हेर्दा पनि डिभोर्स गर्ने नेपालीहरुको संख्या निकै डरलाग्दो मान्न सकिन्छ ।

असमझदारी, झगडा, अविश्वास र बैमन्यस्यताका कारण लोग्ने स्वास्नीबीच डिभोर्सको अवस्था आउंदा त्यसबाट उनीहरुका बालबालिकाहरुमा पनि नराम्रो असर परिरहेको छ । यसर्थ डलरको मात्र पछि लाग्ला जिन्दगी नै खत्तम हुने अवस्था समेत आएको छ । डलरको पछि लाग्दा कैयन बाबुआमाले त आफैले जन्माएको छोराछोरीप्रतिको उत्तरदायित्व पनि विर्सदै जान थालेका छन् ।

छोराछोरीलाई धेरै सम्पत्ति जोडिदिने धुनमा छोराछोरीकै भविश्य कता जाने हो ठेगान नहुने अवस्था समेत आएको छ । डलरको पछि दौडदा छोराछोरीलाई असल सभ्यता र सिकाउने विषय ओझेलमा पर्दै गएको छ । डलरकैपछि लाग्दा छोराछोरीप्रतिको उत्तरदायित्व त कैयन बाबुआमाले बिर्सदै गएका छन् भने लोग्ने स्वास्नीको सम्बन्ध जोगाउन एकले अर्काको उत्तरदायित्व लिने कुरा त अलिक परको विषय बन्दै गएको छ । त्यसैले पनि सम्बन्धविच्छेदको क्रम बढ्दै गएको हो । सांच्ची भन्ने हो भने बैंकको खाताबाट सुरु भएको झगडा एउटा कागजको टुक्रामा गएर अन्त्य हुने गरेको छ । यसप्रति नेपालीहरु सजग हुने हो कि ?

( अमेरिकामा बस्ने गौतम लिटिल पिपुल अफ नेपालकी सामाजिक कार्यकर्ता हुन् । )

0 तपाईंको प्रतिकृया लेख्नु होला ।:

Post a Comment