विभिन्न मन्त्रालय तथा विभागका प्रमुखलाई प्रधानमन्त्रीको निर्देशन

Tuesday, December 20, 2011


५ पुस । प्रधानमन्त्री डा. बाबुराम भट्टराईले काठमाडौ उपत्यकाको ट्राफिक व्यवस्थापन सुधारका लागि विभिन्न मन्त्रालय सचिव तथा विभागका प्रमुखहरुलाई निर्देशन दिनुभएको छ ।
काठमाडौ उपत्यकाको ट्राफिक व्यवस्थापनलाई थप सुधार गर्नका लागि आवश्यक परामर्श तथा निर्देशन दिन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले मंगलबार विभिन्न मन्त्रालयका सचिव, विभागीय प्रमुख, प्रहरी प्रमुख तथा नेपाल विद्युत प्राधिकरण, खानेपानी संस्थान र नेपाल टेलिकमका प्रमुखलाई बोलाउनु भएको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबार भएको सर्वपक्षीय छलफलमा प्रधानमन्त्री भट्टराईले ट्राफिक प्रहरीलाई पूर्ण अधिकार सम्पन्न बनाईने बताउनु भयो । उहाँले हाल ट्राफिक प्रहरीले गरेको सडक विस्तारको कामलाई विशेष धन्यवाद दिँदै थप हौसलाका साथ काम गर्न निर्देशन दिनुभयो । उहाँले भन्नुभयो– ‘सरकारको पूर्ण समर्थन छ, कामका सिलसिलामा कहीँ कतै केही अप्ठेरो प¥यो भने सिधै भन्नु ।’ सडक छेउँका घरहरु भत्काउने काम मात्र भएकोेले निर्माणको कामलाई पनि तदारुकताका साथ अघि बढाउन उहाँले सम्बन्धित मन्त्रालयका सचिवहरुलाई निर्देशन दिनुभयो ।
आफू पनि आर्किटेक्चर भएको स्मरण गराउँदै उहाँले काठमाडौका अधिकांश घरहरु मापदण्ड विपरित बनाइएको प्रति महानगरपालिको ध्यानाकर्षण गराउनु भएको थियो । सडक मिचेर बनाइएका घर नभत्काउन उच्च तहबाटै दवाव आउने गरेको गुनासो आएपछि प्रधानमन्त्री भट्टराईले त्यस्तो दवाव दिने व्यक्तिको नाम दिन आग्रह गर्नु भयो । उहाँले भन्नु भयो– ‘सडक मिचेर बनाइएका घर भत्काउँदा कहीँ कतैबाट दवाव आए मलाई भन्नुस् तर काम नरोक्नुस ।’ उहाँले ऐन परिवर्तन गरेरै भए पनि ट्राफिक प्रहरीलाई शक्ति सम्पन्न बनाउने भन्दै त्यसकालागि आवश्यक ऐन संशोधन गर्न श्रम तथा यातायात व्यवस्था मन्त्रालयका सचिवलाई निर्देशन दिनुभयो । उहाँले काठमाडौ उपत्यकामा पार्कीङको व्यवस्थापनमा निकै समस्या भएको भन्दै त्यसको तत्कालिन र दीर्घकालिन योजना बनाउन सम्बन्धित मन्त्रालयका सचिवलाई निर्देशन दिनुभयो । उहाँले बैकल्पिक व्यवस्था गरेर फूटपाथमा भएका पसलहरुलाई तत्काल हटाउन पनि महानगरपालिकालाई निर्देशन दिनुभयो ।
छलफल कार्यक्रममा मुख्य सचिव माधवप्रसाद घिमिरेले सडक विस्तारका क्रममा नेपाल विद्युत प्राधिकरण र टेलिकमलाई दु्रत गतिमा काम गर्न निर्देशन दिनुभयो । उहाँले श्रम तथा यातायात व्यवस्था मन्त्रालयका सचिवलाई आवश्यक ऐन संशोधनको प्रक्रियामा ल्याएरै भए पनि ट्राफिक प्रहरीलाई अधिकार सम्पन्न बनाउन निर्देशन दिनुभयो । श्रम तथा यातायात व्यवस्था मन्त्रालयका सचिव डा. रामहरी अर्यालले सवारी चालककालागि यसै साताबाट अनिवार्य परिचय पत्रको व्यवस्था गरिने जानकारी दिनुभयो । काठमाडौ नगर विकास समिति तथा काठमाडौ महानगरपालिकाका प्रतिनिधिले विगतमा भएका सहमतिलाई मात्र कार्यान्वयन गर्न सक्ने हो भने पनि महानगरपालिका धेरै व्यवस्थित हुने बताएका थिए ।
छलफल कार्यक्रममा अर्थ, भौतिक योजना तथा निर्माण, श्रम तथा यातायात व्यवस्था, स्थानीय विकास, सञ्चार लगायतका मन्त्रालयका सचिव, काठमाडौ महानगरपालिका, काठमाडौ नगर विकास समिति, सडक विभाग, नेपाल विद्युत प्राधिकरण, नेपाल टेलिकमका प्रमुखहरु तथा प्रहरी महानिरीक्षकको उपस्थिति रहेको थियो ।

0 तपाईंको प्रतिकृया लेख्नु होला ।:

Post a Comment