पैसाको कारण एड्स पुरस्कार

Thursday, December 8, 2011


-अनुप थापा।

मनिस यति सम्म पनि बिचलित हुंदोरहेछ । हे भगवान बेलामा बुद्धि नपुर्याउंदा आज उनलाई कस्तो पश्चाताप भइरहेको छ । मरेको हो कि जिउंदो हुं पत्तै नभएझैं बरबराउंछिन उनी । आखिर यस्तो कुरा सुनाउने कसलाई ? जसलाई पायो त्यसलाई सुनाउने कुरा पनि होइन । आखिर सुनाएर पो के हुन्छ र गर्न सक्ने कसैले केहि होइन । उहि मन हलुको पार्ने मात्र हो । जे हुन्छ बेहोर्नुपर्ने उनि आफंैले नै हो । बिचरी पैसाको कारण ठुलै गल्ति गरिछिन परदेशको ठाउंमा । आखिर मलाई उनले आज दिल खोलेर मुटुलाई भक्कानो पार्दै बलिन्द्रधारा चुहांउदै ज्याक्सन हाइटको चिया पसलमा बसेर आफ्ना सबै दुई बर्षे प्रबासी बेली बिस्तार सुनाउन भ्याइन । बिचरीले लिएको एक कप चिया समेत खाइसकिनन सेलाएर माथि पट्टि तर लाग्यो तर आफ्नो मन भने हलुको पारीन मलाई सुनाएर । उनको मन त हलुको भयो तर के गर्न उनले मेरो मन यति गहंगो बनाईदिइन कि त्यो दिन मैले उनको दुःख बाहेक अरु केहि सोच्ने फुर्सद नै पाइन । मैले पटक पटक तुलना गर्न थालें उनको त्यो हिजोको हाउभाउ कटाक्ष र आजको परिस्थिति कति बदलियो समय संगै ।

मेरो उनिसंगको चिनजान नेपाल देखि नै अलि अलि त थियो तर त्यस्तो गहिरो संगत भने होइन । खालि देख्दा भेट्दा हेलो हाइमा सिमित थियो हाम्रो सम्बन्ध । नेपालमा राम्रै परिवारको उनि चिटिक्क परेको शरिर ,पढेलेखेकी उनि ,खान्दानी नै देखिन्थिन । तर मैले धेरै कुरा जान्ने मौका पाएको थिइन । प्राय उनको र मेरो भेट दरबारमार्गको नाड.लो बेकरी क्याफेमा कहिलेकांहि खाजा खान जांदा मात्र हुन्थ्यो र सामान्य अभिबादनमा सिमित थियो हामे सम्बन्ध । पछि पछि त मैले उनलाई त्यहां पनि देख्न छाडेको थिएं आज झण्डै ५ बर्ष पछि उनि संग त्यहि दरबारमार्गको नाड.लो रेष्टुरेन्टमा हुने भेटसरी अकस्मात ज्याक्सनहाइटको चोकमा भेट्न पुगें । तर उनि संग हिजोको त्यो खुशि अनुहारमा थिएन जिउडाल र बोलीबचन त्यस्तै मिठो त थियो बिचरी कनै पिडामा भएझैं देखिन्थिन । मैले सामान्य कुरा शुरु गर्दा नै सहायद मलाई संसारकै निकट ब्यक्ति सम्झिन कि क्या हो एकै चोटी म संग झांगिएर भक्कानि थालिन । म स्तब्ध भएं र संगैको चिया पसलमा गएर कुरा गर्ने निर्णय गरें अनि मेरो कौतुहल मनलाई केहि शान्त पार्ने उद्देश्यले केहि सोध्ने प्रयास गदै थिंए आंट आएको थिएन । आखिर उनैले भन्न थालिन मलाई एच आइ भि पोजेटिभ भयो दाई । उनको उक्त बचनले मैले कसरी भयो यस्तो भनेर सोध्ने हिम्मत गरिन म बिचरीको अनुहारमा हेर्न सक्ने अवस्थामा पनि थिइन । मैले झलझली हिजोको उनलाई सम्झन थालें उनि बोली नफुटेर रुंदै थिइन । मेरो अनुमानमा भर्खर छब्बिस सत्ताइसकी हुंदी हुन उनी, मलाई उनको बिबाह भएको छ कि छैन त्यो पनि निक्र्योल थिएन । मेरो मनमा यस्तै यस्तै तर्कनाहरु मडारी रहेका थिए म उनको पिडामा पिडा थप्न केहि सोध्ने जमर्को गरि रहेको थिइन । उनि बोल्दै गइन ।

नेपालमा बिबाह पनि भएको रहेछ । नेपालमा एउटा छोरो ४ बर्षको नाबालक, श्रीमान पनि सरकारी जागिरे संगै परिबार अमेरिका आउन नमिल्ने भएपछि डि.भि चिठ्ठामा आएकि रहिछन उनिमात्र अमेरिका ठुला ठला सपना सजाएर सुखी जिवन जिउने अभिलासाका साथ । अमेरिका आउनासाथ केहि समय न्युयोर्कमा ब्युटी पार्लरमा काम गरेपछि कसैले उनलाई लड. आइल्याण्डतिर बच्चा हेर्नेकामममा लगाईदिएछ । हप्तामा सातैदिन चौबिसै घण्टा साहुको घरमा बसेर काम गर्नु पर्ने । साहुको दुइवटा बच्चा हेर्नुपर्ने त्यहि गर्दै महिना दुइमहिना बितेछ । साहुको भने आफ्नो स्वास्नीसंग राम्रो सम्बन्ध नभएको कारण लोग्ने स्वास्नी छुटिएर बस्नथालेपछि एउटी तरुनी स्वास्नी मान्छे साहुसंग बच्चाहरुको साथमा दिन रात बिताउनुपर्ने बाध्यता भएछ । जागिर छाडेर जान सक्ने अवस्था थिएन । भनेको बेलामा काम पनि पाइन्न भन्ने उनलाई लाग्यो । पैसा पनि राम्रै दिएको रहेछ । एक मनले त उनलाई एउटा लोग्नेमानिस भएको घरमा एक्लै बस्न डर पनि लाग्यो तर काम छाड्न सकिनन् । बिचरी के गर्नु एक दिन दुई दिन गर्दा गर्दैै साहुसंगको शारिरिक सम्पर्कमा फसिछिन त्यसपछिको हरेक दिन हरेक रात जागिर संगसंगै साहुसंगको शारिरिक सम्पर्क दैनिकि बन्न थालेपछि नेपालको परिबार र बच्चा सम्झंदै पश्चातापको भुमरीमा फसिन उनि । न खांउ भने दिनभरिको शिकार खाउं भने कान्छो बाउको अनुहार भयो उनलाई उनको जागिर । एकातिर नेपालमा आफ्नो पति र बच्चा र अर्कोतिर आफले गरेको गल्तिले प्रायश्चित गर्दागर्दै दिनहरु बित्दै गए उनको । झण्डै डेढ बर्ष पछि संचो नभएर अस्पतालमा जचाउन जांदा जब डाक्टरले उनलाई एच आई भि पोजेटिभ छ भन्यो तब उनि निली भइन । उनको संसार अन्धकार भयो । उनि आत्तिइन रोइन कराइन कसलाई गएर के भन्ने ? गल्ति उनकै थियो । असुरक्षित यौनसम्पर्क उनैले गरेकि थिइन भन्ने ठाउं केहि थिएन । त्यसपछि डाक्टरको सल्लाहबमोजिम औषधि खाएर जिनतिन जिउने उनि कोशिस गरिरहेकि छिन । उनको कहानी त्यतिमा मात्र सिमित छैन उनले त्यो डेढ बर्षको अवधिमा कहिले कांहि मन बहलाउन न्यास्रो मेटाउन बिभिन्न रेष्टरेन्टमा आफ्ना साथिहरुसंग नाचगान गर्न पनि आउथिन उनि यसरी रेष्टरेन्टमा नाचगान गर्न आउंदा आउंदै अन्य परुषहरुसंग पनि उनको लसपस बढेको थियो त्यहि लसपसबाट अन्य परुषहरुसंग पनि बिना सरक्षित साधन उनले यौनसम्पर्क राखेकि थिइन । आज उनलाई धेरै चिन्ता परेको छ मेरो त जिवन बरबाद भयो तर मेरो गल्तिले कति जनाको जिबन बर्बाद भयो होला …?
-विश्वन्यूज

0 तपाईंको प्रतिकृया लेख्नु होला ।:

Post a Comment