नेपाली काँग्रेसका युवा नेता गगन थापालाई खुल्ला पत्र

Saturday, January 14, 2012


आदरणीय सभासद् तथा युवानेता गगन थापाज्यू,

झण्डै तीन करोड जनताको ढुकढुकीको नेतृत्व गरी राख्नुभएका तपाईंप्रति जनताको आशा र भरोसा दुवै छ । राजनीतिक दलका नेताहरुले दिनदिनै साख गुमाउँदै गएको वर्तमान परिप्रेक्ष्यमा तपाईंप्रति भने जनताको सदासयता र विश्वास उर्लंदो छ । तपाईंजस्तो राष्ट्रको होनहार सच्चा राष्ट्रवादी युवा नेतालाई दूरदराजबाट कलमीपत्र लेख पाउनु मात्र पनि ठूलो सौभाग्य ठान्दै यो पत्र लेख्दै छु । प्रसंग झण्डै एक महिनाअगाडि नेपालस्थित एक टेलिभिजन च्यानलमार्फत तपाईंले अमेरिकालगायत विभिन्न विदेशी मुलुकमा बसोबास गरिरहेका नेपालीहरुप्रति लक्षित तपाईंका अभिव्यक्ति । हुन त तपाईंद्वारा अभिव्यक्त ती विचारहरु सच्चा राष्ट्रवादले ओतप्रोत छन्, त्यसमा दुईमत छैन । तर, मुलुकको एउटा सभासद् त्यसमा पनि तपाईंजस्तो होनहार युवा नेताले विदेशमा बस्ने नेपालीलाई गैरनेपालीको दृष्टिकोणबाट हेर्न खोजेको हो कि ? वा विदेशमा बस्ने झण्डै ३० लाख जनतालाई बिरानो ठान्नुभएको हो ? यस्तै आशंका भित्रैबाट सात समुद्रपारि बसेर श्रम बेचिरहेका म जस्ता श्रमजीवीहरुको असन्तुष्टिका कारण पत्र लेख्न बाध्य भएको छु ।

सर्वप्रथम त नेपालमा शान्तिसुरक्षा छैन, नेपालमा आर्थिक अवसर छैन, सामाजिक अवसर छैन, भविष्य सुनिश्चित छैन भन्दै भटाभट विदेश पलायन हुनेहरुमाथि एकाएक तपाईं खनिनुभएको देख्दा अचम्मित मात्र होइन छक्क परेको छु । अर्को कुरा, नेपाल निर्माण गर्छ भनेर जनताका अगाडि शपथ लिएका तपाईंजस्ता सौभाग्यशाली नेताहरुका क्रियाकलापमा खबरदारी गर्नु, तपाईंहरुका चित्त नबुझ्दा उक्त क्रियाकलापको आलोचना गर्नुलाई एक्काइसौं शताब्दीमा तपाईंजस्तो आशालाग्दो नेताले विदेशमा बस्ने नेपालीले हामीलाई गालीगलौज गर्ने, अर्ती उपदेश दिने हाम्रो आलोचना गर्ने भन्दै तपाईंप्रति विदेसिएका नेपालीहरुले अन्याय गरेको तपार्इंको वजनदार बोली सुन्दा कुटुक्क मन कुँडियो । समाजशास्त्रमा स्नातकोत्तर तपार्इंलाई नेपालको भूगोल, नेपालको अर्थतन्त्रदेखि वातावरण र राजनीतिका ज्ञाता तपाईंलाई ग्लोबलाइजेसनको प्रभावले हजारौं अमेरिकन भारतमा काम गर्न पुगेका छन् भने लाखौं भारतीय नागरिक अमेरिकामा बस्छन् भन्ने पनि अवश्य थाहा होला । आर्थिक सम्पन्नतामा अमेरिकालाई चुनौती दिइरहेको चीनका लाखौं जनता अमेरिकामा बस्छन् भने जुन देशका २५ प्रतिशत जनताको आयस्रोत दैनिक १ डलर २५ सेन्ट छैन, त्यो देशका जनतालाई विदेश पलायन हुनुहुन्न भनेर तपाईंको राष्ट्रवादले बोल्ला तर यथार्थमा केही योजना पनि भइदिए यी प्रवासी नेपालीहरु हर्षित हुने थिए र नेपालमा आई बस्न तयार हुने थिए, सभासद ज्यू । देशको प्रतिव्यक्ति आय १०४९ अमेरिकी डलर छ, जुन देशमा झाडापखाला लागेर जीवनजलको अभावमा मात्र पनि सयौं मानिस मृत्युवरण गर्न बाध्य छन् । त्यो देशको नागरिकलाई आफ्नै भूगोलभित्र सीमित राख्नका लागि खोइ त तपाईंले आफ्नो दायित्व निर्वाह गरेको ? खोइ त संविधान निर्माण गर्नुभएको ? कमसेकम बेलामा संविधान निर्माण गरेको भए त जति पलायन हुनु थियो भए, अरु नागरिकले पलायनको बाटो अपनाउने थिएनन् । संविधान निर्माणको ढोका विदेशमा बस्ने नेपालीले त पक्कै बन्द गरेका छैनन् त ? लोकतन्त्रको लडाईंमा चावहिल चोकमा कयौं पटक कुर्लनुभएका तपाईंलाई जनताले ठूलो विश्वास गरेका छन् । संविधानसभामा तपाईं प्रतिनिधि भएर जानुभयो भने पक्कै पनि केही परिवर्तन हुनेछ, अन्य राजनीतिज्ञभन्दा तपाईंका मत केही फरक हुनेछन् र परिवर्तनको संवाहक हुनेछ भन्ने जनताको अपेक्षा थियो । तर, के गर्नु चार–चार पटक म्याद थप हुँदासम्म तपाईं पनि त्यही कित्तामा उभिएको आज जनता टुलुटुलु हेर्न बाध्य छन् । कोही पनि नेपाली सौख पूरा गर्न मात्र आफ्नो भूगोल नाघेर विदेशी भूमि सिञ्चित गर्न जाँदैन र जानुहुँदैन आफ्नै माटोलाई पसिनाको मोल दिनुपर्छ । अवश्य पनि सुन्दर छन्, यस्ता पवित्र विचारहरु तर के गर्नु सभासद्ज्यू विकट गाउँमा दिनभर खोरिया खन्दा–खन्दा पेटभरि खान नपाउने धेरै जनता छन्, हामीसँग । दाल, चामल, नुनतेल, लत्ताकपडा अनि ज्वरो आउँदा सिटामोल त किन्नुप¥यो नि होइन र ? यस्ता दैनिक उपभोग्य वस्तुहरु फोस्रो राष्ट्रवादको बार्टर सिस्टममा नेपालभित्र खरिद गर्न पाइने भए अवश्य पनि ती ३० लाख जनता आफ्नै माटो सिञ्चित गर्न फर्कने थिए ।

संविधानसभा चुनाव सम्पन्न भएको झण्डै चार वर्ष पुग्न लाग्यो । ४४ महिनामा ५१ हजार प्रतिव्यक्ति, प्रतिमहिना ६०१ सभासद्ले तलबभत्ता थाप्दा मोटामोटी १ अर्ब ३४ करोड ८६ लाख ४४ हजार राज्यले खुवाइसक्यो, संविधान निर्माण हुन सकेको छैन । तर, यसबीचमा एक जना सभासद् निस्किएनन्, जसले म तलबभत्ता लिन्न भनेर । न्यूयोर्क राज्यका मेयर माइकल ब्लुमवर्ग तलबभत्ता जे भने पनि जम्मा १ डलर लिन्छन् । त्यो पनि अमेरिकी कानूनअनुसार सित्तैमा काम गर्न नमिल्ने भएका कारण । जबकि उनको अफिसियल तलब १ लाख ९५ हजार अमेरिकी डलर हो । तर, भन्नुहोला ब्लुमवर्गजस्तो हामी कहाँ धनी हो र ? भनेर । धनसम्पत्तिले कसैलाई पुग्दैन, असीमित चाहना हुन्छन् । यसको बारेमा तपाईं पनि राम्रै ज्ञाता हुनुहुन्छ । जुन देशको कुल गार्हस्थ उत्पादन १२ बिलियन अमेरिकी डलर छ, त्यो देशका सभासद्ले मात्र प्रतिमहिना तीन करोड तलबभत्ता लिने गर्दछन् तर जनताको अवस्था त्यस्तो छ, भासद्ज्यू । अनि कसरी सम्भव होला तपाईंले भनेजस्तो विदेश जानुभएन, यहीभित्र अवसर खोजी गर्नुप¥यो भनेर, के सम्भव होला र ? सबै जनता तपाईंजस्ता भाग्यमानी हुँदैनन्, सभासदज्यू, जो जन्मँदै इञ्जिनियरको छोरो भएर जन्मियो । सबै जनाको भाग्य त्यस्तो हुँदैन, जसले तपाईंले जस्तो सुविधासम्पन्न सिद्धार्थ वनस्थलीबाट शिक्षा हासिल गर्न पाओस् । विद्यालयको अनुहार नै देख्न नपाएका लाखौं जनता छन्, हामीसँग । यस्ता जनताले विदेश जाने मौका पाए भने … ? बन्दोबस्त र वातावरण त निर्माण गरिदिनोस् अनि त्यसपछि तपाईंले भन्नै पर्दैन, आफैं रोकिन्छ सबै नेपाली त्यही सीमारेखाभित्र । राज्यले वार्षिक १०० मिलियन अमेरिकी डलर लगानी गरेको एक लाख पाँच हजार सेनालाई त काम दिन सकिराख्नुभएको छैन, उत्पादनमूलक क्षेत्रमा खटाउन सक्नुभएको छैन । अनि किन धिक्कार्नु हुन्छ सुन्दर सपना सजाएर विदेशमा कर्म गर्न जानेहरुलाई सभासद्ज्यू, यो अलि न्याय भएन कि ? हुन त तपाईंका अभिव्यक्तिहरुबाट प्रष्ट भइसकेका छन्, विदेशमा बस्ने नेपालीले हामीलाई खबरदारी किन गर्ने, किन अर्ती उपदेश दिने भनेर । तर पनि क्षमा माग्दै मनमा नअडिएर यो पत्र लेख्दैछु ।

सभासद्ज्यू, अर्को कुरा डीभी परेर अमेरिका जाने नेपालीले आजदेखि मैले नेपाली नागरिकता त्याग गरें, म अमेरिकन भएँ, भन्ने खुसियालीमा नातागोता आफन्त बोलाएर भोजभतेर गर्छ भने तपाईंको अर्को अभिव्यक्ति पनि त्यति जायज देखिँदैन । सभासद्ज्यू डीभी पर्नु भनेको नेपालको नागरिकता त्याग गर्नु अवश्य पनि होइन । यति लामो समयदेखि नेपालमा सञ्चालित अमेरिकी सरकारको कार्यक्रमका बारेमा तपाईंसम्मलाई राम्रोसँग जानकारी नहुनु दुःखद् कुरा हो । डीभी परेपछि नेपालीहरु अमेरिकामा कानूनसम्मत तरिकाले बस्न, काम गर्न पाउँछन् । त्यति मात्र हो, ऊ नेपाली नागरिक नै हुन्छ, उसले अमेरिकी नागरिकता ग्रहण नगरेसम्म । तपाईंहरु जस्तै नीतिनिर्माताले निर्माण गरेको कार्यक्रमअन्तर्गत नेपालमा जस्तो घरघरमा र चौतारी तथा बुथमा गएर नागरिकता बाँड्ने चलन अमेरिकामा छैन सभासद्ज्यू । कुनै पनि कानुनी प्रावधान पूरा गरेर यदि उक्त व्यक्तिले नागरिकता लिन चाहेमा अमेरिकी नागरिक हुन सक्छ न कि तपाईंले भनेजस्तो डीभी प¥यो, म अमेरिकी नागरिक भएँ, त्यो होइन सभासद्ज्यू । डीभी परेर खुसी हुनुलाई तपाईंले नेपालको नैतिक धरातल कहाँ छ, त्यो प्रष्ट भएको बताउनुभएको छ । महिनामा ५ हजारको जागिर नपाएर रुमल्लिएको बीए पास युवालाई डीभी प¥यो भने किन खुसी नहोस् । लगानी गर्न पुख्र्यौली सम्पत्ति छैन, बैंकले ऋण दिन्न, भएको सम्पत्ति पढाइमा लगानी गर्दै सक्यो, राज्य उदासिन छ, नेताहरुलाई मोजमस्ती नै छ, कसले जिम्मा लिने त्यस्ता युवाको ? सभासद्ज्यू । अनि त्यस्तो युवा डीभी परेर खुसी नहोस् ? बाँच्नु त प¥यो नि सबै जना होइन र ? तपाईंको उक्त अभिव्यक्ति नेपालमा डीभी आवश्यक छैन भन्नेतर्फ इंगित छन्, जस्तो लागेको छ । कतै यस्तो नहोस् कि बाँदरले आफ्नो घर पनि बनाउँदैन अरुको घर पनि बाँकी राख्दैन । कमसेकम रेमिट्यान्सकै भरमा चलेको राज्यलाई केही भरथेग त भएको छ ।

नेपालीहरु विदेश गएर बस्नै हुन्न, गएर बसे पनि नेपालको आर्थिक, सामाजिक, राजनैतिक प्रणालीमाथि टीकाटिप्पणी गर्ने उनीहरुको हक अधिकार छैन भन्ने अभिव्यक्ति भन्दा पनि अझ चोटिलो अर्को अभिव्यक्तिका बारेमा चर्चा नगर्नु अझै अन्याय हुनेछ । त्यसैले पत्र अलि लामो नै भए पनि उक्त प्रसंग कोट्याउने अनुमति माग्दछु ।

नेपालीहरु विदेश जाने भनेको नेपालमा भएको झिटीगुण्टा समेत बेचेर जाने हो । उनीहरु विदेश गएपछि स्थायी नागरिक भएर बस्ने हो । उसले सम्पत्ति जोड्दा पनि त्यहीँका लागि जोड्छ । देशमा वर्षको ५० मिलियन डलर त भारतीय र ब्रिटिस सेनामा काम गरेका सिपाहीको कारण भित्रिन्छ । मिलियन डलर प्रत्येक महिना खाडी मुलुकलगायत यूरोप, अमेरिका, अष्ट्रेलियालगायतका देशहरुमा बसेका नेपालीहरुका कारण भित्रिन्छ । मुलुकको अर्थतन्त्रको ठूलो हिस्सा रेमिट्यान्सकै कारण चलेको विश्व बैंकको रिपोर्ट सार्वज्निक भएका छन् । तर, म अचम्मित भएको छु कि सभासद्ज्यूलाई भने किन महसुस भएन, विदेशमा बस्ने नेपालीहरुको नेपालप्रतिको योगदान । देशको अर्थतन्त्रमा ठूलो टेवा दिँदै आएका प्रवासी नेपालीहरुको अझ ठूलो योगदान सामाजिक क्षेत्रमा छँदैछ । क्यालिफोर्नियाको लस एञ्जलसमा बसेर पोखरा र डोल्पामा विद्यालय निर्माण गर्ने तारा गुरुङ अनि न्यूयोर्कमा बसेर भोजपुरको तिवारी भञ्ज्याङमा विद्यालय निर्माण गर्ने लीला राईजस्ता कयौं व्यक्तित्व विदेशी भूमिलाई मलजल गरे पनि साँचो माया भने स्वदेशलाई नै गरेका छन् । तारा गुरुङ र लीला राई त सानो उदाहरण मात्र हुन् । हामीसँग हजारौं यस्ता उदाहरण छन्, जसले प्रवास बसाइँकै क्रममा स्वदेशलाई योगदान दिएका छन् । सभासद्ज्यू भन्दा अलि तीतो हुन सक्छ, मुलुकको एउटै मात्र अन्तर्राष्ट्रिय विमानस्थल जहाँबाट तपाईं स्वयम् पचासौं पटक विदेश भ्रमण गर्नुभयो होला । तर, दैलोमा बसेर तपाईंहामी सबैलाई गिज्याउने थोत्रा ट्रली फेर्नसमेत ती विदेशी नेपालीहरुको संगठन पुग्नुपर्ने कस्तो विडम्बना थियो । यो एउटा उदाहरण मात्र हो । राजनैतिक योगदानको कुरा गर्नुहुन्छ भने लोकतान्त्रिक आन्दोलनले स्थापित गराएको तपाईंलाई त अमेरिकामा बस्ने नेपालीहरुले अझ ऋणी बनाएका छन् । नेपालस्थित टेलिभिजन च्यानलबाट प्रवासी नेपालीहरुप्रति तपाईंको अभिव्यक्ति सुनेका नेपाली कांग्रेसका महासमिति सदस्य आनन्द विष्टले अत्यन्त नमीठो मान्दै लोकतान्त्रिक आन्दोलनमा अमेरिकाबाट पु¥याएको योगदानको स्मरण मलाई समेत गराए ।

सभासद्ज्यू, तपाईंहरु कुनै दिन बाटो बिराएको बटुवाझैं रत्नपार्क र बागबजारमा ३०÷३५ को संख्यामा आन्दोलनमा रुमल्लिइरहँदा तपाईंहरुलाई दुनियाँले खिल्ली उडाउँथ्यो । त्यतिबेला तपाईंहरुको आन्दोलनको न जनतालाई चासो थियो, न अन्तर्राष्ट्रिय जगतलाई । त्यस्तो विषम परिस्थ्तििमा त्यही अमेरिकामा बस्ने नेपालीहरुले १८ वटा ¥याली संयुक्त राष्ट्रसंघ र ह्वाइटहाउस अगाडि प्रदर्शन गरेका थिए । तत्कालीन राजतन्त्रको विरुद्धमा पहिलो बिगुल अमेरिकामा बस्ने नेपालीहरुले फुकेका थिए । त्यति मात्र होइन, संसारभरिका मानवअधिकारवादी संगठन र युरोपियन युनियनलाई घचघच्याउने काम गरेका थिए । त्यसपछि मात्र नेपालमा आन्दोलन अर्को चरणमा प्रवेश गरेको थियो । त्यसपछि तपाईं गणतन्त्रवादी नेता हुनुभएको थियो ।

अन्त्यमा,

अनि कसरी छैन विदेशमा बस्ने नेपालीको योगदान नेपालप्रति ? विदेशमा बस्दैमा विदेशी नागरिक बन्नुपर्छ भन्ने केही छैन । नेपालीहरु विदेश पलयान भएकै कारण नेपालको यो दुर्दशा भएको हो भन्ने मलाई लाग्दैन । तपाईंहरुजस्ता राजनीतिज्ञमा फोस्रा राष्ट्रवाद मात्र देखिएको कारण राजनीतिज्ञमा इमानदारिता, नैतिकता दुवै नभएका कारण र व्यक्तिगत स्वार्थको कारण मुलुकको यो अवस्था आएको हो भन्ने हाम्रो ठम्याई छ । त्यसैको परिणाम विदेश पलायनको बाटो रोज्न बाध्य भएका हुन् नेपालीहरु । त्यसैले सभासद्ज्यू, माईक अगाडी बोल्दा अलि ध्यान पु¥याउनु भयो भने तपाईको बढ्दो राजनीतिक प्रभावमा ब्रेक लाग्नेछैन ।

विजय पौडेल, न्यूयोर्क, अमेरिका

1 तपाईंको प्रतिकृया लेख्नु होला ।:

Anonymous said...

म श्री एडम्स केभिन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै ठीक आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन
adams.credi@gmail.com: तपाईं रुचि हो यो इमेल मा हामीलाई सम्पर्क यदि हामी, 3% ब्याज दर मा ऋण दिन।.

Post a Comment