युनिटी जस्तै अर्को सञ्जाल, ३० करोड उठायो भीओपी: अर्को युनिटी !

Thursday, January 5, 2012

लोकमणि राई


काठमाडौ, पुस २१ - युनिटी इन्टरनेसनलबाट ठगिएकाले न्याय नपाउँदै यस्तै अर्को संस्थाले सञ्जाल विस्तार गरी पिरामिड शैलीमा रकम संकलन गरिरहेको छ । भ्वाइस अफ पिपुल (भीओपी) ले गैरकानुनी रूपमा १ हजार ६ सयलाई सदस्य बनाई करिब ३० करोड रुपैयाँ संकलन गरिसकेको अनुमान छ ।

सोझासीधा सर्वसाधारण यसअघि गोल्ड क्वेस्ट, क्विक अर्निङ, ड्यु सफ्ट, प्राइम, प्रतीक्षा लगायत नेटवर्क मार्केटिङ कम्पनीबाट ठगिएका थिए । करिब ६ अर्ब रुपैयाँ ठगी गर्ने युनिटीका प्रमुख काशीराम गुरुङ र विष्णु खत्रीलाई सुरक्षा संयन्त्रले अझै पक्राउ गरेको छैन । यी प्रकरण भएको लामो समय

नबित्दै अहिले भ्वाइस अफ पिपुल (भीओपी) नेटवर्क मार्केटिङ कम्पनीले नेपाल र भारतमा समेत ठूलो सञ्जाल विस्तार गरिसकेको यसको सदस्यता लिएकाहरू बताउँछन् । पूर्वमिस नेपाल रुबी राणाजस्ता सार्वजनिक छवि भएकालाई समेत प्रयोग गरी यसले गैरकानुनी रूपमा प्रतिव्यक्ति १९ हजार ८ सय ८८ रुपैयाँदेखि २ लाख ९३ हजार ८ सय रुपैयाँसम्म उठाइरहेको छ ।

भीओपीले ब्रोन्ज, सिल्भर, गोल्ड र डाइमन्ड गरी चार प्रकारका वाषिर्क सदस्यता दिने भन्दै रकम उठाउने गरेको हो । ब्रोन्ज सदस्य बन्न १९ हजार ८ सय ८८ रुपैयाँ, सिल्भरका लागि ५९ हजार २ सय १२ रुपैयाँ, गोल्डका लागि १ लाख १३ हजार रुपैयाँ र डायमन्डका लागि २ लाख ९३ हजार ८ सय रुपैयाँ असुल्ने गरेको छ ।

भीओपीमा आबद्ध रहिरहन चाहनेले सदस्यता अवधि सकिनु एक साताअघि फेरि त्यति नै तिरेर नवीकरण गर्नुपर्ने उनीहरूको नियम छ ।

सदस्यता बन्ने क्रममा भीओपीका सदस्यता वितरकहरूले सर्वसाधारणलाई आफूहरूले विभिन्न ब्रान्डका उत्पादनबारे सर्वेक्षण गरी ठूला र बहुराष्ट्रिय कम्पनीलाई बजार रणनीति तय गर्न सघाउने दाबी गर्ने गरेका छन् । त्यसबापत विज्ञापन ल्याएर 'भीओपी सप्पी' नामक म्यागेजिन प्रकाशन गर्ने र विज्ञापनबापतको आधा रकम सर्वेक्षणमा सहभागी -सदस्यता लिएकाहरू) लाई कमिसन दिने भीओपीसम्बद्धको दाबी छ ।

वाणिज्य विभागका कायममुकायम महानिर्देशक शंकरप्रसाद पौडेलले कमिसन लिएर सदस्य बनाउनु गैरकानुनी भएको बताए । 'नेपालको कुनै पनि कानुनले कमिसन लिएर सदस्य बनाउन दिँदैन,' उनले भने, 'कमिसन लिएर सदस्य बनाउने काम नेटवर्क मार्केटिङ हो र यो गैरकानुनी हो ।'

भीओपीको सदस्यता लिएपछि प्रकारअनुसार हरेक सदस्यलाई सञ्चालकहरूले अनलाइन एकाउन्टमार्फत सर्वेक्षणमा सहभागी गराउने दाबी छ । जसअनुसार ब्रोन्ज सदस्यले हरेक साता तीनवटा ब्रान्डको सर्वेक्षणमा सहभागी हुन पाउँछ । एउटा ब्रान्डको सर्वेक्षणमा सहभागी भएबापत ३ सय २० रुपैयाँ पाइने भीओपी सञ्चालन भइरहेको बानेश्वरस्थित कार्यालयका कमल खजुमले बताए । त्यसमा विभिन्न शुल्कहरू कटाएर त्यस्तो सदस्यलाई वाषिर्क ३८ हजार ५ सय ८ रुपैयाँ दिइने उनले बताए । सर्वेक्षण गर्न कहीं जानु नपर्ने र अनलाइनमा पठाइने फारम मात्र भरे पुग्ने पनि उनले जनाए । त्यसका लागि सदस्यलाई वेबसाइट डब्लूडब्लूडब्लू डट भीओआइसीईओएफपीईओपीएलईओएनएलआईएनई डट एनईटीमार्फत सर्वेक्षण फारम भराउने गरिएको छ ।

त्यस्तै, सिल्भर सदस्यले सातामा ९, गोल्ड सदस्यले १० र डाइमन्ड सदस्यले ३० सर्वेक्षणमा भाग लिन पाउने सदस्यता लिइसकेकाहरूले बताए । त्यसबापत सिल्भरले १ लाख १६ हजार ८ सय १३ रुपैयाँ, गोल्डले १ लाख ९४ हजार ६ सय ८८ रुपैयाँ र डायमन्डले ५ लाख ८४ हजार ६४ रुपैयाँ पाउने उनीहरूको दाबी छ ।

सदस्य थपे कमिसनको आइरो

भीओपीमा सदस्य बनेकाहरूले पिरामिड शैलीमा सदस्यता थप्दा अझ आकर्षक कमिसन पाउने प्रलोभन देखाइएको छ । सदस्य थप्नेले प्रतिसदस्य २० प्रतिशत कमिसन पाउँछ । एकजना डायमन्ड सदस्य थप्नेलाई ५८ हजार ७ सय ६० रुपैयाँ, गोल्ड सदस्य थप्नेलाई २२ हजार ६ रुपैयाँ, सिल्भर सदस्य थप्नेलाई ११ हजार ८ सय ४२ रुपैयाँ र ब्रोन्ज सदस्य थप्नेलाई ३ हजार ९ सय ७६ रुपैयाँ कमिसन बाँडिने आश्वासन दिइएको हुन्छ । आफूले बनाएको सदस्यले अरू सदस्य बनाए त्यसबापत पनि १० प्रतिशत कमिसन पाउने ग्राहकका रूपमा पुगेका यस संवाददातालाई खजुमले बताए ।

आकर्षक कमिसन र कमाइ हुने प्रलोभनमा भीओपीको सदस्य बढ्दो छ । तीन महिनाअघि सिल्भर मेम्बर बनेकी एक युवतीले नाम नबताउने सर्तमा भनिन्, 'नजिकको साथीले सदस्य मात्र बन्नुहोस्, एक वर्षमा दोब्बरभन्दा बढी फिर्ता हुन्छ भनेर ग्यारेन्टी गरेपछि नाइँ भन्न सकिनँ । चन्द्र नाम गरेको एक जना दाइले भीओपीबाट मासिक साढे ६ लाख रुपैयाँ कमाउँछु भनेपछि म पनि लोभिएँ ।'

नेपालमा करिब ७ महिनाअगाडि सुरु भीओपीको अहिले सदस्य १ हजार ६ सय नाघिसकेको सदस्यता लिएकाहरू बताउँछन् । त्यस हिसाबले भीओपीले अहिलेसम्म झन्डै ३० करोड रुपैयाँ उठाइसकेको भीओपी समूहबाट हालै अलग्गिएका एक व्यक्तिले बताए ।

'रकम उठाएर ठग्ने साथीहरूको नियत बुझेपछि मैले भीओपी छाडें,' ती व्यक्तिले भने, '१ वर्ष/६ महिनामै कसैले दोब्बर पैसा फिर्ता दिन्छु भन्छ भने त्यो असम्भव कुरा हो ।'

सञ्चालक को-को ?

स्रोतका अनुसार भीओपी म्यागेजिनका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत सन्तोष तामाङ नै यो नेटवर्क मार्केटिङका पनि मुख्य सञ्चालक तथा योजनाकार हुन् । सन्तोष साइमन तामाङ पनि भनिने उनी रोबियस इन्टरनेसनल नामक नेटवर्क मार्केटिङ कम्पनीका संस्थापक अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत पनि

हुन् । यो कम्पनी हाल कानुनी अस्तित्वमा छैन ।

म्यागेजिनका प्रबन्ध निर्देशकमा कुमार तामाङ र प्रशासन संयोजकमा रुबी राणाको नाम छ । भीओपी हाल नयाँ बानेश्वरस्थित रोबियसको सपोर्ट सेन्टरबाट सञ्चालन भइरहेको छ । सेन्टर संविधानसभा भवनको २ नम्बर गेट अगाडि प्राइम बैंक रहेको भवनको चौथो तलामा छ । सेन्टरको कार्यालयीय कामकाज तेजबहादुर राई र खजुमलगायतकाले चलाइरहेका छन् ।

'भीओपी सिंगापुरको कम्पनी हो,' ग्राहक बनेर बुधबार उक्त कार्यालय पुगेका संवाददातालाई खजुमले भने, 'रोबियस इन्टरनेसनलले प|mान्चाइजमा नेपालमा भीओपी चलाएको हो ।'

नेटवर्क मार्केटिङ गर्दै आएको रोबियस त्यससम्बन्धी निर्देशिका २०६६ लागू भएपछि घिउकुमारीको जुस र कस्मेटिक सामान बेच्ने उद्देश्यसहित वाणिज्य विभागमा दर्ता

भएको थियो । तर २०६७ साल जेठमा सरकारले उक्त निर्देशिका नै खारेज गरेपछि रोबियस र नेटवर्क मार्केटिङ व्यवसायको अस्तित्व कानुनी रूपमा समाप्त भएको विभागका कायममुकायम महानिर्देशक पौडेलले बताए ।

'सरकारले निर्देशिका खारेज गर्नासाथ हामीले त्यस निर्देशिकाअनुसार दर्ता भएका चार नेटवर्क मार्केटिङ कम्पनीलाई कारोबार नगर्न/नगराउन पत्राचार गरेका थियौं,' पौडेलले भने, 'यदि कसैले कमिसन लिएर सदस्य बनाउने नेटवर्क मार्केटिङ गरिरहेको छ र त्यसको उजुरी पर्छ भने हामी तत्काल छानबिन र कारबाही गर्छौं ।'

२०६६ सालको दर्ता विवरणअनुसार रोबियसका सञ्चालकमा सन्तोष तामाङबाहेक कुमार तामाङ, सुमन श्रेष्ठ र अम्बिका कोइराला छन् ।

भीओपी सप्पी म्यागेजिनकी संयोजक राणाले भने यो नेटवर्क मार्केटिङ व्यवसाय नभएको दाबी गरिन् । उनले भीओपी म्यागेजिनको ग्राहक शुल्कबापत वाषिर्क रूपमा २ लाख ९३ हजारसम्म लिएको बताइन् । म्यागेजिनमा भने त्यसको शुल्क प्रतिअंक ७५ रुपैयाँ लेखिएको छ । 'सदस्य बनाएर नेटवर्क मार्केटिङका रूपमा कसैले लाने सोच बनाएको छ भने त्यो गलत नियत हो,' राणाले भनिन्, 'यो नेटवर्क मार्केटिङ व्यवसाय होइन । त्यो मानिसको सोचमा भरपर्ने कुरा हो ।'

राणाले आफू 'डाइरेक्ट सेलिङ कम्पनी' रोबियसको सदस्य भएको र त्यसैले फ्रन्चाइजमा भीओपी सञ्चालन गरेको पनि बताइन् । तर रोबियसको अस्तित्व कानुनी रूपमा समाप्त भइसकेको हैन र भनी सोद्धा उनले भनिन्, 'म प्रवक्ता होइन, हाम्रो वकिलसँग कुरा गर्न समय मिलाइदिन्छु ।'

साभार:- ई कान्तिपुर

1 तपाईंको प्रतिकृया लेख्नु होला ।:

Anonymous said...

म श्री एडम्स केभिन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै ठीक आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन
adams.credi@gmail.com: तपाईं रुचि हो यो इमेल मा हामीलाई सम्पर्क यदि हामी, 3% ब्याज दर मा ऋण दिन।.

Post a Comment