सडक बालबालिकासँग बलिवूड नायिका मनिषा कोइराला

Monday, November 14, 2011


बसन्तपुर वरपर फोहोर बटुल्दै हिँड्ने विशाल तामाङलाई जीवनमा एकपटक मनिषा कोइरालासँग बसेर तस्बिर खिच्ने इच्छा थियो। सोमबार राजधानीको एउटा जमघटमा उनको त्यो सपना मात्र पुरा भएन, विशाललाई यसपालाको हिउँद झेल्ने न्यानोको बन्दोबस्त पनि उनै अभिनेत्रीले गरिदिएकी छिन्।

विशालको परिवार काठमाडौंमै बस्छन्। बा- आमा दुवैले अर्कै विहे गरेका। त्यसैले विशाललाई सडककै जीवन रमाइलो लाग्छ।

'उतिबेला फेल भएपछि पढ्न जानै छाडिदिएँ,' उनले नागरिकलाई मनको कुरा खोले,'पाएदेखि त पढ्थेँ।'

फुर्सदको बेला पारेर समाजसेवामा आकर्षित भएकी मनिषाले त्यो समारोहमा विशालजस्ता २१ सडक वालवालिकालाई ज्याकेट र स्लिपिङ ब्याग प्रदान गरेकी थिइन्। त्यसैबेला उनले दुई सडक बालवालिकालाई आफुले पढाउने घोषणा पनि गरिन्। तर, बालबालिकाको नाम भने घोषणा गरिएन।

छ वर्षदेखि सडक केटाकेटीकै क्षेत्रमा कार्यरत संस्था 'हर्ट बिट' को आयोजनामा कार्यक्रम सम्पन्न भएको थियो। समारोहमा अभिनेत्री निशा शर्मा, चित्रकार प्रकाश चाँडवाडकर, निर्देशक मूरे केर र अभिनेता अर्पण थापासमेत को उपस्थिति थियो।

'यस्ता केटाकेटीसँग बस्दा एक किसिमको सुख महशुस हुन्छ,' मनिषा भनिरहेकी थिइन्, 'मेरो उपस्थितीमा उनीहरु रमाएको देख्दा झनै रमाइलो लाग्छ।'

मनिषालाई उनको वैवाहिक जीवनबारे सोध्दा कुनै जवाफ दिन चाहिनन्। बरु आफु नेपाली फिल्म निर्माणमा लागेको जानकारी भने सार्वजनिक गर्न उत्साहित देखिइन्। त्यसका निम्ति आफ्नै प्रोडक्सन हाउस खोलिसकेको उनले बताइन्। 'यसबीच मलाई तीनवटा फिल्मको अफर आएको थियो,' उनले जानकारी दिइन्, 'तर, कुनै पनि मन नपरेकाले नखेल्ने निर्णय लिएँ।'

मनिषाका अनुसार पारिवारिक कामले केहि दिनमा उनी एक महिनाको निम्ति मुम्वइ जाँदै छिन्।

'केही कामहरु गर्ने योजना बनाइसकेकी छुँ,' उनले भनिन्, 'मुम्बइबाट फर्केपछि त्यसको औपचारिक घोषणा गर्नेछु।'

समाजसेवामा रुची देखाउँदै आएकी मनिषाले यसअघि पनि एक स्कुललाई सहयोगको घोषणा गरेकी थिइन्।

'सार्वजनिक पहिचान बनाएका व्यक्तिहरु समाजसेवामा लाग्दा त्यसले पार्ने प्रभाव बढी हुन्छ,' आयोजक हर्ट बिटका संस्थापक जुजुकाजी भन्दै थिए, 'अन्य नेपाली सेलिब्रेटीले पनि मनिषा जीबाट सिक्नु पर्छ।'

श्रोत : नागरिक

0 तपाईंको प्रतिकृया लेख्नु होला ।:

Post a Comment