नेपालका चलचित्रकर्मीलाई, देखाइदिए चक्मा !

Monday, November 21, 2011


हामी नेपाली वीर भइकन पनि बुद्धु छौ , यो चर्चित कवि भूपी शेरचनको कविताको एक अशं मात्र हो । नेपालका कैयन चलचित्रकर्मीको सवालमा यो अंश ठ्याक्कै लागु हुन्छ । उनीहरु राम्रा चलचित्र बनाउन होइन, चोर्न सिपालु छन् । त्यो पनि ढंगले चोरे त हुन्थ्यो नि ! यस्ता बुद्धुहरुलाई अमेरिकामा पढ्ने नेपाली विद्यार्थीले कस्तो चक्मा देखाउदैछन् ? विश्वन्यूजका लागि किशोर पन्थीले तयार पारेको रिपोर्ट ।

कथा नम्बर १

अमेरिकामा पढ्न आएको एउटा युवक आफूलाई निकै एक्लो महसुस गरिरहेको हुन्छ । सांच्ची नै न्युयोर्कको भींडभाडमा पनि उ एक्लो छ । कोही पनि छैन , उसलाई साथ दिने । त्यसैले त अत्यन्तै निराश पनि छ । बाटोमा, शहरमा, रेलको सबवेमा जताजतै उ एक्लो महसुस गरिरहेको हुन्छ ।



बाटोमा चारा चर्ने परेवाका पनि साथीहरु छन्, तर उसका साथीहरु छैनन् । पढाई र कामले लखतरान ऊ कोठामा आउंछ, अनि हरेकदिन इन्टरनेट चलाउंछ । यहीं कम्प्युटर त छ उसको साथी । फेसबुक लग इन गर्छ । तर त्यहां पनि उसलाई थप निराश बनाउने चिज बाहेक अरु केही छैन ।

उसका फेसबुक साथीहरुले उसैलाई कुटेका फोटोहरु ट्याग गरिदिएका हुन्छन् । तिनै ट्याग हटाउदैमा ठीक्क छ उसलाई । च्याटमा साथीहरुसंग कुरा गर्न खोज्छ । तर कसैले पनि रेस्पोन्स गर्दैनन् । अनि फेसबुक लग आउट गरिदिन्छ । यस्तै एकरसको दैनिकी छ उसको ।




अलिकति एक्लोपन कम गर्न झ्यालबाट बाहिर टोलाउंछ । यस्तैमा एकदिन उसले झ्यालाबाट एकजना युवतीलाई देख्छ । मंगोलियन अनुहारकी ति युवती चिया पिइरहेकी हुन्छिन् । सांच्ची सुन्दर छिने ति युवती । त्यसैले उ तिनै युवतीलाई हेरेर निकैबेर टोलाउंछ । युवती भित्रभित्र निराश छिन् । तर उसलाई हेरेपछि अलिअलि मुस्काउंछिन् । उनीहरुबीच धेरैपटक आंखा जुध्छ । यत्तिकैमा युवती चियाको कप सहित एकैछिनमा फर्कने संकेत गर्दै कतै जान्छिन् ।

युवती फेरी आउछे कि भन्दै उसले पटकपटक हेर्छ । तर त्यहां कोही पनि आउंदैन । फर्केर फेसबुक खोल्दा एकजनाको फ्रेन्ड रिक्वेष्ट आएको हुन्छ । रिक्वेट पठाउने तिनै युवती हुन्छिन् । उसले रिक्वेष्ट एसेप्ट गर्छ । अनि दुबैबीच च्याटमा कुराकानी हुन्छ । धेरै लामोसमय सम्म कुराकानी हुन्छ, च्याटमा । एउटा साथी पाएकोमा उ पनि निकै खुशी हुन्छ । यस्तो खुशी उ यसअगाडि कहिले पनि देखिएको थिएन । दुबैबीच भेटघाट गर्ने सल्लाह हुन्छ । अनि उ युवतीले दिएको ठेगानामा भेट्न पनि जान्छ । तर त्यतीबेला थाहा पाउंछ , ति युवतीको हत्या भइसकेको हुन्छ ।

कथा नम्बर २

एकजना नेपाली विद्यार्थी । न्युयोर्क युनिभर्सिटीको विज्ञान र कला संकायमा अध्ययनरत छ । अर्को सबवेमा गित गाउने गायक । दुबैको संगीतप्रतिको मोह उस्तै छ । दुबैको दैनिकी विहान एकैपटक सुरु हुन्छ । विद्यार्थी विहान उठेर मर्निङ वाकमा निस्कन्छ । सबवे सिंगर एउटा खिल्ली चुरोट पिएपछि गितार बजाउन सुरु गर्छ । तर फरक यत्ति छ, सब वे सिंगर आफैले गित संगीत रचना गर्छ भने विद्यार्थी अरुले रचना गरेको संगीतमा मजा लिइरहेको हुन्छ ।

त्यसैले विद्यार्थी युवकले निकै संघर्ष गरेर एउटा गितार किन्छ । अनि त्यतीबेला उसले महसुस गर्छ कि गितारमा एउटा तारको महत्व कति छ भनेर । एउटा तार नहुदा संगितमा कति असर पर्छ भनेर महसुस गर्छ, विद्यार्थी युवकले । त्यसैले आफ्नो गितारको तार झिकेर सब वेमा गित गाउने युवकलाई उपहार दिन्छ । गितारको तार उपहार पाउंदा सबे वे सिंगरको मनमा खुशी छल्किएको प्रष्टै देखिन्छ । तर त्यो खुशी छल्किदासम्म तार उपहार दिने विद्यार्थी धेरै पर पुगिसकेको हुन्छ ।

यि दुईवटा कथाहरु न्युयोर्कमा नेपालीबाट बनाइएका चलचित्रका कथा हुन् । पहिलो चलचित्र हो, विन्डो अर्थात् झ्याल । दोश्रो चलचित्र हो, प्यासन अर्थात् आशक्ति । कथा सुन्दा यस्तो लाग्न सक्छ, यो कुनै एकदुईघण्टाकै चलचित्र हो । तर त्यसो होइन । यि दुबै चलचित्र जम्मा ५ मिनेटको हाराहारीमा छन् । पांच मिनेटभित्रै एउटा जिवन्त कथा प्रस्तुत गरिएको छ । अत्यन्तै आकर्षक शैलीमा । नबोलेरै पनि धेरै कुरा व्यक्त गर्न सकिन्छ भनेझैं यि दुबै सर्ट मुभीको विशेषता के हो भने दुबैमा कुनै संबादको प्रयोग गरिएको छैन । विना संवादपनि धेरै कुरा बुझ्न सक्छन्, दर्शकहरुले । चलचित्र हेर्दा दर्शकहरुलाई संवादविहिन चलचित्र हो भन्ने समेत हेक्का हुंदैन । कुनै पेशेबर चलचित्रकर्मीले बनाएका सर्टमुभी भन्दा कम छैनन् यि चलचित्र । तर वास्तविकता त्यस्तो होइन । कुनै पेशेबर चलचित्रकर्मीले नभई यि चलचित्रहरु न्युयोर्कमा अध्ययनरत एकजना नेपाली विद्यार्थीले बनाएका चलचित्र हुन् । विद्यार्थी नै भएपनि उनले बनाएका यि सर्टमुभी हेर्दा लाग्छ, संभवत उनी नेपालकै कान्छा सर्टमुभीमेकर हुन् । चोर्न सिपालु नेपालका चलचित्रकर्मीहरुले यि विद्यार्थीबाट पाठ सिक्न जरुरी छ ।

गोरखा धारापानीका रोजन श्रेष्ठ । अहिले उनी अमेरिकाको न्युयोर्कमा रहेको हन्टर कलेजमा अध्ययनरत छन् । उनको पढाइको विषय त बायोकेमेष्ट्री हो । तर उनी नेपालकै कान्छा सर्टमुभिमेकरमा दरिदै जान थालेका छन् । अहिले उनी जम्मा २३ वर्षका भए । तर पनि हुने बिरुवाको चिल्लोपात भनेझैं उनी यति सानो उमेरमा नै आफूलाई स्थापित गर्दै जान थालिसकेका छन् । विन्डो र प्यासन भन्दा अगाडि उनले मम नामको सर्ट मुभी पनि बनाएका थिए । तर पहिलो चलचित्र भएकाले हुनसक्छ, उनको यो चलचित्रमा थुप्रै कमजोरी थिए । उनी भन्छन् – मैले पहिलो सर्टमुभी बनाउंदा नबनाउदै धेरै कुरा सिंके र दोश्रोमा लागु गरें ।

हुन पनि पहिलो मुभी भन्दा उनको दोश्रो मुभी विन्डो प्राविधिक हिसाबले पनि अब्बल मान्न सकिन्छ । उनले बनाएको तेश्रो मुभी प्यासन त अझ अब्बल छ । उनको यो शैली हेर्दा लाग्छ, उनले अब बनाउने सर्टमुभी अझ अब्बल हुनेछ । उनी भन्छन् – अब बनाउने सर्ट मुभीमा तीनवटैमा भन्दा नयांपन दिने कोशिस गर्नेछु ।

सन् २००७ मा अमेरिका आएका हुन्, रोजन । हुन त उनलाई चलचित्रप्रति पहिले देखि नै रुची थियो । तर अमेरिका आउनासाथ केही गर्न सक्ने अवस्था थिएन । त्यसैले प्यासन र विन्डो बनाउंदासम्म उनले अमेरिकामा उनका झण्डै तीनवर्ष बिते । पछिल्लो चलचित्र प्यासनको निर्माण कार्य रोजनले यसैसाता सकाएका हुन् । उनले निर्माण गरेको चलचित्र प्यासन युट्युबमा पनि हेर्न सकिन्छ ।

उनलाई चलचित्र निर्माणको काममा पोखराका कमल गुरुङले पनि सघाइरहेका छन् । त्यो बाहेक चलचित्र विन्डो बनाउदा रोजनलाई स्टेफन विन्डो, लुजा श्रेष्ठ, सुरज पोखरेल , दीपेश ढुंगेल, लक्ष्मण अधिकारी लगायतले सघाएका थिए भने दोश्रो चलचित्र प्यासनको निर्माणमा पनि कमल गुरुङ, लुजा श्रेष्ठ, जेभिन, विवेक, रिशेस, अन्जान, दिपेश, छिरिङ, साहिल, आलोक , प्रशान्त, सुमित, आयुस लगायतले सघाएका थिए । मेट्रो टे«न एसोसियसनसंग अनुमति लिएर चलचित्र प्यासन बनाउंदा झण्डै एकमहिनाको अवधी लागेको बताउंछन्, रोजन । उनी भन्छन् – गुडिरहेको रेलमा सिक्वेन्स मिलाएर खिच्नु निकै कठिन काम थियो, पटकपटक रेलको अर्को स्टेशनमा पुगेर फर्कनदै खिच्नुपरेको थियो हामीले ।

प्यासनको अन्तिम टेक पनि १२ पटकमा मात्र ओके भएको स्मरण गर्छन्, रोजन । उनी हांस्दै भन्छन् – जेभिनले दिएको १२ औं टेकमात्र मलाई चित्त बुझेको थियो, यसो गर्दा उपनि हैरान भएको थियो ।

चलचित्र निर्माण गर्दा यति धेरै रेस्पोन्स र प्रशंसा होला भनेर रोजनले सोंचेका थिएनन् । तर चलचित्र निर्माणपछि आएको रेस्पोन्सबाट उनी सांच्ची नै उत्साहित छन् । प्यासन बनाउंदासम्म आएको सल्लाह सुझावले अर्को चलचित्र बनाउन उत्साह मिलेको बताउंछन् उनी । उनी अहिले फरक खालको चलचित्र निर्माणको तयारीमा पनि लागिसकेका छन् । त्यो चलचित्रको विषय अहिले नै खुलाउन चाहन्नन् उनी । तर उनी भन्छन् – यो चलचित्र नेपालको राजनीतिक पृष्ठभूमीमा आधारित हुनेछ ।

बच्चैदेखि बाबासंग चलचित्र र्हेन हलसम्म पुग्ने रोजनको चलचित्र निर्माणप्रतिको प्यासन पनि सांच्ची रोचक छ । उनलाई बच्चामा नेपाली र हिन्दी चलचित्र हेर्दा कतै केही नपुगेजस्तो र केही नमिलेजस्तो अनुभव हुने रहेछ । स्टेज शो र नाटकहरु हेर्न जांदा पनि कतै केही नमिलेजस्तो अनुभव हुन्थ्यो रे उनलाई । उनी भन्छन् – नेपाली रंगमंचमा चल्दै आएको धारप्रति बाल्यकालदेखि नै असन्तुष्टीका कारण मलाई नयांधारका नेपाली चलचित्र बनाउन प्रेरणा मिलेको हो ।

हुन पनि रोजनले बनाएका चलचित्रले नयां धार पक्रिन खोजेको अनुभूती गर्न सकिन्छ । उनी नेपाली चलचित्रकै इतिहासमा पहिलोपल्ट संबादविहिन लामो चलचित्र बनाउन चाहन्छन् । अमेरिकामा नै बसेर नेपाली चलचित्र बनाइरहने त ? प्रश्नको जवाफमा मुस्काउदै रोजन भन्छन् – म पढाइ सकेपछि नेपाल फर्कन्छु ।

चलचित्र निर्माणमा मात्र होइन, पढाइमा समेत ट्यालेन्ट छन् रोजन । उनी नेपाल फर्केपछि काठमाडौंमा होइन, विकट ठाउहरुमा पुगेर नेपाली जडिबुटीको बारेमा अध्ययन र अनुसन्धान गर्न चाहन्छन् । नयां नयां रोगका नयां नयां औषधी पत्ता लगाउनका लागि आफ्नो यात्रा सुरु हुने रोजनको भनाइ छ । नेपालको सरकारले त तपाईलाई सहयोग गर्ला र ? प्रश्नको जवाफ निकै सटिक छ उनको । उनी भन्छन् – सरकारको मुख ताक्ने र सरकारलाई दोष दिने प्रबृत्तिका कारण नै हामी पछि परेका छौं, सरकारले नगरिदिएपनि हामी आफै धेरै काम गर्न सक्छौं ।

उनी विश्वमा सरकारको सहयोग विना नै शिखर चुम्न सफल व्यक्तिको उदाहरण समेत दिन पछि पर्दैनन् । त्यसैले उनलाई नेपालको सरकारको पनि त्यती ठूलो आशा छैन । यद्यपी उनी आफू अगाडि बढ्नको लागि सबै क्षेत्रको सहयोग भने चाहन्छन् । उनी बायोकेमेष्ट्री र चलचित्रको यात्रा एकैसाथ अगाडि बढाउन चाहन्छन् । उनी भन्छन् – चलचित्र मेरो चाहना हो, बायो केमेष्ट्री लक्ष्य ।

स्रोत:विश्वन्युज

0 तपाईंको प्रतिकृया लेख्नु होला ।:

Post a Comment