नेपाली समाजमा त्यस्तो युवा पुस्ता कहाँ छ ?

Thursday, August 25, 2011

खगेन्द्र संग्रौला

नेपाली समाजमा त्यस्तो युवा पुस्ता कहाँ छ, जसले बजारसत्ता, राज्यसत्ता, पार्टीसत्ता र धर्मसत्तासँग आँखा जुधाउन सक्छ ?

युवा भनेको उमेरको सीमारेखाभित्र बाँधिएको व्यक्ति होइन । युवा त सधैं अगाडि बढ्न हिम्मत गर्छ । ऊ निषेधका पर्खाल तोड्ने नायक हो । ०६२/६३ सालको आन्दोलनताका सबैभन्दा युवा थिए- गिरिजाप्रसाद कोइराला ।

आधुनिक चीनका लेखक ल्यु सुनको एउटा अत्यन्तै मर्मान्त कथन म याद गर्छु
 । ल्यु सुन चीनमा चेयरम्यान माओजस्तो अथोरिटीसँग पनि आँखा जुधाउन सक्थे । उनी चीनका महान्तम लेखक हुन् । चीनमा क्रान्तिको आँधी उठिरहेको वेलामा युवा पुस्ताका धेरै मानिस ल्यु सुनकहाँ भेटघाटमा गइरहन्थे । पान्डुलिपि लिएर जान्थे र भन्थे- यसलाई बनाइदिनुपर्‍यो । ल्यु सुनले कम बनाए भने युवा गुनासो गर्थे- बूढाले हेर्दै हेरेनन् । ल्यु सुनले अलिकति बढी छाँटकाँट गरे भने गुनासो गर्थे- बूढाले त सखापै पारे । मानिसहरू गइरहन्थे र गुनासो मात्रै गरिरहन्थे । ल्यु सुनले एउटा विम्बको निर्माण गरे । चीनमा यस्तो किंबदन्ती थियो- युवाहरू तन्नेरी काँधमाथि बूढा टाउका बोकेर हिँडिरहेका छन् ।

अहिले मकहाँ धेरै युवा आउँछन्
 । महिला, दलित, मधेसी, जनजाति, कणर्ाली आदि विभिन्न क्षेत्रका युवा आउँछन् र अधिकांशले मबाट जीवनका रेडिमेड उत्तर खोज्छन् । तिनले गन्गन् मात्रै गर्छन् । आफ्नो पार्टीका प्रभुसँग जान्छन् र गन्गन् गर्छन् । कुर्सीको प्रभुसँग गएर पनि गन्गन् गर्छन् । अहिले गन्गन् गर्ने युवाको संख्या अत्यन्त व्यापक छ ।

साहित्यमा युवा लेखनसम्बन्धी चर्चा हुँदा युवाहरूको महिमामण्डन गर्ने र गुनगान गाउने काम भयो।
त्यो सही हो । सही किन हो भने भविष्य निर्माण गर्ने आखिर युवाले हो । देशलाई परिवर्तन गर्ने र देश डोर्‍याउने पनि युवाले नै हो । तर, यसबारे मेरो प्रश्न छ (उत्तर कसैले दिए पनि हुन्छ, नदिए पनि हुन्छ) - युवाको विम्ब निर्माण गर्न सक्ने युवा कहाँ छन् ? नेपाली समाजमा त्यस्तो युवा पुस्ताको उदय कहाँ भएको छ, जसले बजारसत्तासँग आँखा जुधाउन सक्छ, जसले राज्यसत्तासँग आँखा जुधाउन सक्छ, जसले पार्टीसत्तासँग आँखा जुधाउन सक्छ र जसले धर्मसत्तासँग आँखा जुधाउन सक्छ ?समाज बदल्ने भनेका पार्टीहरू अहिले गुट-उपगुटमा चिरा परेका छन् । पार्टीमा लागेका अधिकांश युवा गुटको मुख्य मान्छेलाई देउता बनाएर हिँडिरहेका छन् । कतिपय युवा बजारसत्ताका पैसावाल ख्वामितहरूलाई प्रभु बनाएर उनीहरूकै वरिपरि घुमिरहेका छन् । आमरूपमा हाम्रा युवाको अवस्था मैले यस्तै देखेको छु । म बूढो भएको हुनाले मेरो दृष्टि संकीर्ण भयो होला । मेरो दृष्टि परसम्म पुग्न सकेन होला । ममा ग्रहणशीलता भएन होला । तर, मलाई त्यस्तो युवाको विम्ब प्रस्तुत गरिदिनुस्, जसले गर्दा म आफू बूढो भइसकेको महसुस गरूँ !

सभार: नयाँ पत्रिका

0 तपाईंको प्रतिकृया लेख्नु होला ।:

Post a Comment