लोकतन्त्र नेपाली काँग्रेसको ठेक्का होइन

Monday, January 16, 2012

प्रजातन्त्र, लोकतन्त्र जस्तो पदावली प्रयोग गरेपनि त्यसको प्रयाय काँग्रेस मात्र हो ? उसले मात्र ठेक्का लिएको छ ? अरुसबै अलोकतान्त्रिक हुन् ? जनताको पक्षमा छैनन् ? उनीहरुले भनेका सबैकुरा लोकतन्त्रको पक्षमा छैनन् भनेर जसरी प्रचार गर्न खोजिएको छ, त्यो साँचो होइन । गोकुल श्रेष्ठले गरेको संक्षिप्त कुराकानी ।

फूटको संघारमा पुगेको एकीकृत नेकपा माओवादी नाटकीय ढंगले एक भएको छ, कारण के हो ?

फूटेर त कोही कहीँ कतै पुग्दैन । त्यसैले केन्द्रीय समितिको बैठकमा अत्यधिक सदस्यहरुले एकताको पक्षमा धारणा राखे । त्यसैलाई सम्बोधन गर्नका लागि कुनै न कुनै रुपमा पार्टीलाई एकीकृत गर्ने र अहिलेकै कार्यदिशालाई लागू गर्ने गरी बैठक टुंगाउने प्रसंग चल्दैछ ।

अध्यक्ष र उपाध्यक्ष बैद्यको प्रतिवेदनलाई थाती राखेर नयाँ संयुक्त प्रतिवेदन आउँछ भन्ने छ नि ?

प्रतिवेदन त होइन । किन भने पहिले नै दुई वटा प्रतिवेदन प्रस्तुत भएका छन् । तिनीहरुलाई फोरमको रुपमा तल्लो तह सम्म लैजाने तर कार्यक्रम एउटै बनाउने तयारी भएको छ । दुवै प्रतिवेदनलाई समेट्ने गरी साझा कार्यक्रम तय गरेर अघि बढ्यो भने पार्टी एकता पनि बच्छ र अहिले हामीले उठाएका एजेण्डाहरु पनि लागु हुन्छन् भनेर कार्यक्रम एउटै बनाउन खोजिएको हो ।

फोरमको रुपमा तल सम्म लैजाने भनेको के ?

दुवै प्रतिवेदनको पक्ष विपक्षमा साथीहरुले चलफल चलाउनु हुन्छ । तल लागु चाहि हुँदैनन् । जे हामीले बैठकबाट साझा कार्यक्रम पारित गर्छाै, त्यहि मात्र लागु हुन्छन् । त्यस भित्रका कतिपय सैद्धान्तिक पक्षहरुलाई छलफलका लागि तल सम्म लैजाने भनेको हो ।

१६ दलको गठबन्धन बनेपछि माओवादी एक हुन बाध्य बनाएको हो भन्यो भने सत्य हुन्छ ?

त्यसको आंशिक प्रभाव त परेको छ तर पनि त्यो भन्दा केन्द्रीय कमिटीको बैठकमा अधिकांशको धारणा पार्टी एक भएर अघि जानु पर्छ भन्ने आएपछि यस्तो भएको हो । खास गरी पार्टी एकतालाई बचाउनु पर्छ भन्ने आन्तरिक पक्षको नै सम्बोधन गर्न खोजिएको हो । माओवादी कमजोर भयो भने अगाडि आउन सक्थ्यौं कि ? भन्ने कतिपय पर्दा पछाडिका शक्ति केन्द्र्रहरुको त्यस्तो किसिमको अपेक्षा हुन सक्छ तर साँचो अर्थमा १६ दल वा १८ दल एकातिर भएर एकता भएको भन्दा पनि बैठकमा उठेका विषय, देशभरका कार्यकर्ता तथा जनताको भावनालाई समेटेर पार्टी फूट्नु हुन्न भनेर नै एउटै कार्यक्रम बनाउन खोजिएको हो ।

सरकार पुनर्गठन हुन लागेको हो ?

पुनर्गठन हुँदा राम्रै हुन्छ । हामीले भनिरहेका पनि छौं । पार्टी भित्रका केही साथीहरुको सरकारमा सहभागिता हुनुपर्ने थियो, त्यो छुटेको हो । उहाँहरुले अनावश्यक रुपमा राष्ट्रघाती या यो भएन ऊ भएन भनेर जसरी सडकमा जानुभयो, लामो समय सम्म सरकारले पूर्णता पनि प्राप्त गरेन, उहाँहरुलाई पर्खदा तर पछिल्लो समय उहाँहरु सरकारमा नजाने निर्णय गरेपछि सरकारलाई पूर्णता दिइएको हो । यदि अहिले पनि उहाँहरु सरकारमा आउनु हुन्छ भने सरकार पुनर्गठन हुन्छ । तर राजिनामाको कुरा गर्नुहुन्छ भने अहिले सम्भव छैन्न ।

उसो हो भने वैद्य पक्ष सरकारमा सहभागि हुन्छ ?

यो सरकारको आलोचना गरेर सडकमा गएको हुँदा उहाँहरुलाई नैतिक प्रश्न त बनेको होला । तर राजनीतिमा त्यस्तो प्रतिशोध राख्नु हुँदैन । एउटै पार्टीका नेताहरु एकापसमा मिलेरै जानुपर्छ । बैठकमासँगै बस्ने, कार्यक्रम एउटै बनाउने तर सरकारमा सहभागि हुँदैनौ भन्नु पूर्वाग्रह बाहेक केही हुन सक्दैन ।

नेपाली काँग्रेस पनि सरकारमा सहभागि हुने हल्ला छ नि ?

उहाँहरुसँग थुप्रै पटक औपचारिक तथा अनौपचारिक छलफल भएको छ । तर उहाँहरु सरकारमा तत्काल सहभागि हुने भन्दा पनि शान्ति प्रक्रिया बाबुरामजी कै नेतृत्वको सरकारले पूरा गरोस् र त्यसपछि मात्र सरकारमा सहभागि हुने उहाँहरुले भन्नु भएको छ । सरकारमा तत्काल सहभागि हुने भन्दा पनि शान्ति प्रक्रिया टुंगाउनुपर्छ भन्ने उहाँहरुको जोड छ ।

अहिले नेपाली काँग्रेस र एमाले लगाएतका दलहरु गठबन्धन नै बनाएर माओवादीलाई साइजमा ल्याउने भन्दै हिडेका छन्, तपाईहरुको रणनीति के छ ?

अलि बढी एमालेको एउटा वृत्तले पहलकदमी लिन खोजेको देखिन्छ । अनि काँग्रेस भित्रको एउटा हिस्साले पनि त्यसैमा हो मा हो मिलाउँदै वर्तमान सरकारको विकल्प खोजिरहेका छन् । तर जतिसुकै विरोध गरेपनि यो सरकार एमाले काँग्रेस बनाएको होइन । यो त माओवादी र मधेशवादी दलकोबीचमा सहमति भएर बनेको हो, उनीहरु यो सरकारको विषयमा दृढ छन् । यद्यपी पार्टी भित्र केही समस्याहरु छन् । समस्या भए पनि सरकार ढालिहाल्ने भन्ने छैन । काँग्रेस एमालेले विरोध गरेर सरकारको आयु छोटिने भन्ने हुँदैन । तर पनि १६ दलले उठाएका कतिपय विषयहरुले सरकार र पार्टीको ध्यानाकर्षण गराएको छ ।

राज्यपुनःसंरचनाको विषयमा माओवादीले अडान लिएका कारण शान्ति प्रक्रिया अघि बढ्न सकेन भन्ने आरोप छ नि ?

त्यो विल्कुल गलत हो । जुन खालको प्रचार काँग्रेसबाट भएको छ, त्यो सैद्धान्तिक पनि छैन र व्यवहारिक पनि छैन । प्रजातन्त्र, लोकतन्त्र जस्तो पदावली प्रयोग गरेपनि त्यसको प्रयाय काँग्रेस मात्र हो ? उसले मात्र ठेक्का लिएको छ ? अरुसबै अलोकतान्त्रिक हुन् ? जनताको पक्षमा छैनन् ? उनीहरुले भनेका सबैकुरा लोकतन्त्रको पक्षमा छैनन् भनेर जसरी प्रचार गर्न खोजिएको छ, त्यो साँचो होइन । राष्ट्रपति जनताबाट सिधै निर्वाचित भएर आउने कुरा नै पूर्ण लोकतान्त्रिक हो । उहाँहरुले सबैभन्दा बढी प्रशंसा गरेको अमेरिका हो । जहाँ उच्च लोकतन्त्र छ भन्नु हुन्छ, अमेरिकामा त्यहि प्रणाली छ । फ्रान्स, स्वीट्जरल्याण्ड लगायतका देशमा पनि त्यहि प्रणाली छ । त्यसैले माओवादीले उठाएको राष्ट्रपतिय प्रणाली लोकतान्त्रिक छैन भनेर जुन प्रचार गर्न खोजिएको छ, त्यो बेसान्दर्भिक बहस हो । यद्यपी यस्ता विषयमा अडान लिनु हुँदैन । माओवादीले पनि आफ्ना कुरा प्रष्ट रुपमा राखेको छ, उहाँले पनि आफ्ना कुरा राख्नु भएको छ । त्यसैले कहि न कहि एउटा सहमतिको विन्दु खोज्नुपर्छ । मुलुकमा सधै अस्थिर राजनीति भएको कारण पनि हामीले राष्ट्रपतीय प्रणाली भनेको हो । हाम्रो परिवेशमा यो प्रणाली नै उत्तम हुन्छ ।

स्रोत:विश्वन्युज

1 तपाईंको प्रतिकृया लेख्नु होला ।:

Anonymous said...

म श्री एडम्स केभिन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै ठीक आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन
adams.credi@gmail.com: तपाईं रुचि हो यो इमेल मा हामीलाई सम्पर्क यदि हामी, 3% ब्याज दर मा ऋण दिन।.

Post a Comment