फेस बुक; आफ्ना वरपर काम गर्ने, पढ्ने र बस्ने मानिसहरुलाई जोड्ने एक सामाजिक साधन हो ।

Monday, November 14, 2011


काठमाडौंकी प्रिया शर्मा र भारत सिक्किमका नेपालीभाषी दीपेश फेसबुकमा साथी भए । चार महिनासम्म फेसबुकमा च्याट गरे । दुई जनाबीच मायाप्रीति बस्यो । १७ वर्षीया ती युवतीले युवकलाई फोन गरेर नेपालमा बोलाइन् । १२ कक्षा पढ्दै गरेकी ती युवतीले दीपेशलाई कलंकीमा भेटिन् ।

पहिलो भेटमै उनीहरू भागेर सिक्किम पुगे र लगनगाँठो कसे । आमा र बहिनीसँग काठमाडौंमा बस्दै आएकी उनी हराएको भन्दै प्रहरीमा उजुरी पर्‍यो । प्रहरी अनुसन्धानले उनले भागेर विवाह गरेको तथ्य खुल्यो ।

चलचित्र निर्माता उज्वल घिमिरेको नाममा अर्को व्यक्तिले फेसबुक खाता खोलेर उनका चलचित्र र कामबारेमा अनावश्यक सूचना दिन थाल्यो । त्यसपछि उनी महानगरीय प्रहरी अपराध महाशाखा पुगे । महाशाखाले अमेरिकास्थित फेसबुकको केन्द्रीय कार्यालयमा जानकारी गराएर त्यसलाई ब्लक गराइदियो ।

नुवाकोटकी रीता सापकोटा (नाम परिवर्तन) फाइनान्समा काम गर्नेको नाममा फेसबुक खोलेर उनको तस्बिर राखियो । अनि फोटो एल्बममा अश्लील चित्रहरू राखेर बदनाम गराइयो । उनको मोबाइल नम्बर राखिदिएर अनैतिक कार्यका लागि सम्पर्क गर्नु भन्दै पैसा पनि उल्लेख गरिएको थियो । उनको मोबाइलमा फोन आउन थालेपछि उनले प्रहरीमा उजुरी दिएकी थिइन् । उनको गलत नाम र ठेगानालाई प्रहरीले फेसबुकमा अनुरोध गरेर ब्लक गरायो ।

यी यस्ता उदाहरण हुन् जसले फेसबुकका राम्रा-नराम्रा पक्षलाई देखाउँछ । फेसबुकको माध्यमबाट चिनजान भएर विवाह हुनुलाई राम्रो मान्न सकिन्छ । प्रविधिलाई जसरी प्रयोग गरिन्छ, त्यसको दुरुपयोग पनि त्यसरी हुने गरेको छ ।

प्रहरीमा फेसबुकबाट पाउनेको ताँती लाग्ने गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार दैनिक २/३ वटाका दरमा फेसबुकका समस्या आउने गरेका छन् । २०६६ मंसिरमा अपराध महाशाखामा 'साइबर क्राइम अनुसन्धान सेल' स्थापना भएपछि फेसबुक लगायतका अन्य सूचना प्रविधिबाट हुने गरेका अपराधको अनुसन्धान सुरु भएको हो । महाशाखामा फेसबुकसम्बन्धी समस्या बोकेर आउने महिला धेरै छन् । आइतबार फेसबुक कसैले ह्याक गरिदिएको भन्दै महाशाखामा राजधानीको एक क्याम्पस पढ्ने किशोरी पुगेकी थिइन् । ३ साथीसँगै पुगेकी उनले ह्याक भएपछि कसैले अश्लील तस्बिर या त्यसलाई प्रयोग गरेर अपराध गर्लान् भन्ने चिन्ताले प्रहरीकहाँ पुगेको बताइन् । महाशाखाका साइबर क्राइमका डीएसपी चन्द्रबहादुरसिंह धामीले फेसबुकमै गएर त्यसले सोध्ने अन्य प्रश्नको उत्तर दिएर मात्र बन्द गराउन सकिने सुझाव दिएर पठाए ।

चिन्दै नचिनेका व्यक्तिहरू फेसबुकमा साथी बन्ने, बाहिर भेटघाट गर्ने र कुरो नमिलेपछि अनावश्यक अश्लील चित्रहरू पोस्ट गरिदिने गरेको अपराध महाशाखाकी इन्स्पेक्टर दीप्ति कार्कीले बताइन् । आर्थिक वर्ष २०६७/०६८ मा २० वटा उजुरी परेका थिए । गत साउनदेखि हालसम्म १८ वटा परेका छन् ।

कारबाही हुन्छ ?

कारबाही त हुन्छ तर गाह्रो छ । महिलाका पुराना अश्लील तस्बिर राखेर बदनाम गराएको अवस्थामा कारबाही गर्न सकिन्छ । महिलाले उजुरी दिएपछि पुरानो सम्बन्धका बारेमा महिलाबाटै जानकारी लिएर चरित्र हत्या गर्ने व्यक्तिलाई पक्राउ गर्न सकिन्छ । अन्य अपराध व्यक्ति-व्यक्तिबीचमा हुन्छ । तर, साइबर अपराध मान्छे-मान्छेमा कम्प्युटरबाट हुन्छ ।

तर, इन्टरनेटबाट डाउनलोड गरेर त्यस्ता चित्र राखिएको भए पत्ता लगाउन गाह्रो हुन्छ । फेसबुक कम्पनीबाट त्यस्ता चित्र पोस्ट गरेको कम्प्युटरको आइपी ठेगाना लिनुपर्ने हुन्छ । तर, नेपालबाट फेसबुकको कम्पनीसँग समन्वय गरेर माग गर्ने कुनै निकाय नभएका कारण त्यस्ता अपराध गर्ने व्यक्तिको पहिचान गर्न गाह्रो हुन्छ तर असम्भवचाहिँ होइन । अन्य अपराधीलाई पक्राउ गरेको हिसाबले अनुसन्धान गर्दा पत्ता लगाउनुपर्छ । त्यसरी अपराधी पत्ता लागिहालेमा विद्युतीय कारोबार ऐनमा मुद्दा दायर गर्ने गरिन्छ । नेपालमा साइबर क्राइमलाई हेर्ने सीईआरटी (कम्प्युटर इमर्जेन्सी रेस्पोन्स टिम) को अत्यावश्यक छ । त्यसले विदेशी इन्टरनेट सेवा प्रदायकसँग समन्वय गरेर यस्ता अपराध नियन्त्रणमा मदत पुर्‍याउँथ्यो । नेपालमा अहिलेसम्म विदेशी संस्थासँग समन्वय गर्ने कुनै निकाय छैन । (अपराध महाशाखाका डीएसपी चन्द्रबहादुरसिंह धामीसँगको कुराकानीमा आधारित ।)


श्रोत: कान्तिपुर

0 तपाईंको प्रतिकृया लेख्नु होला ।:

Post a Comment