नेपाली कथानक चलचित्र 'भिसा गर्ल'

Sunday, November 13, 2011


नेपाली कथानक चलचित्र 'भिसा गर्ल'को निमन्त्रणामा सरकारी छाप सहितको 'राहदानी' प्रयोग गरेर सिजी इन्टरटेनमेन्ट विवादमा परेको छ।
सरकारी प्रयोजनबाहेक अन्य काममा 'सरकारी छाप, लोगो र छायाँप्रति' समेत प्रयोग गर्नु दण्डनीय काम हो। सिजीले फिल्म घोषणा कार्यक्रममा तयार पारेको निमन्त्रणापत्रको कभर र नेपाल सरकारले प्रयोग गरेको राहदानीको कभर दुरुस्तै छ।

प्रहरी प्रधान कार्यालयका प्रवक्ता डिआइजी विनोद सिंहले निजी काममा सरकारी छाप प्रयोग गर्नु कानुनविपरित रहेको बताउँदै उजुरी आए कारबाही प्रक्रिया अगाडि बढाउने बताए।

उद्योग विभागका महानिर्देशक ढुन्डीराज पोखरेलले यस्तो कार्डको प्रयोग गैरकानुनी बताए। निजी र व्यापारिक प्रयोजनका लागि कसैले पनि सरकारी लोगो प्रयोग गर्न नपाउने उनको भनाइ छ।

'भिसा गर्ल'को निमन्त्रणा पत्रको विवरण सुनेपछि 'नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालय'का रजिष्ट्रार विसु केसीले उजुरी परे सरकारी छाप दुरुपयोगको मुद्दासमेत चल्न सक्ने बताए। नेपाल सरकारले रचना गर्न लगाएको सबै चिजको स्वमित्व सरकारमा हुने बताउँदै त्यसको दुरुपयोग भए कानुन अनुसार कारबाही हुनसक्ने उनले बताए। 'सत्कार्यको लागि हो भने अनुमति लिएर सरकारी रचनाका केही अंश प्रयोग गर्न पाइन्छ, निजी र व्यापारिक प्रयोगका लागि यसो गर्नु गैरकानुनी हो,' यस्तो विषयमा सरकारले नै मुद्दा हाल्न सक्ने उनले बताए।

डिआइजी सिंहले सरकारी दस्तखत र लिखत अनुमतीबिना कसैले पनि प्रयोग गर्न नपाउने जनाए। निजी कम्पनीले व्यापारिक प्रयोजनमा राहदानीजस्तै लाग्ने समाग्री प्रयोग गर्दा प्रतिलिपि अधिकार उल्लंघन मात्र नभई कीर्तेको परिभाषाले समेत भेट्नसक्ने उनले बताए।

'सबै विवरण नबुझी त भन्न सकिन्न, तर लोगोको अरुले प्रयोग गर्न पाउँदैन, प्रतिलिपि अधिकार र कीर्तेको मुद्दा बन्न सक्छ यो,' उजुरी परे कारबाही अघि बढाउन सकिने उल्लेख गर्दै उनले भने, 'मेरो कार्डमा तपाईंको फोटो राख्न पाइन्छ? थाहै नदिई कसैको घरको फोटो राखेर आफ्नो कारोबार गर्न पाइन्छ? यो पनि त्यस्तै हो। यस्तो साधारण कुरामा त हेक्का पुर्‍याउनु पर्‍यो नि, फिल्म बनाउनेले।'

फिल्मकी अभिनेत्री तथा सहनिर्माता ऋचा शर्मा भने राहदानीको सम्मान सहितको सिर्जनशील काम गरेको दाबी गर्छिन्। यो विवादपछि कार्डमा 'वन्ली फर प्रोमोसनल युज' भन्नु पर्थ्यो कि भन्ने महसुस गरेकी ऋचाले नौलो काम गर्दा विवादमा परेको बताइन्। 'मिडियाबाहेक अरू निकायबाट गलत काम गरेको भनिएको छैन, हामीले नियम बुझेरै यसो गरेका हौं,' उनले भनिन्, 'हामीले पासपोर्ट बेचेको हैन, दुरुपयोग गरेको हैन, डिजाइनरले ल्याएको प्रस्ताव राम्रो लाग्यो, एउटा फरक प्रयोग गर्‍यौं।'

एक महिनापछि सुटिङ सुरु गर्ने बताइएको फिल्म 'भिसा गर्ल'को पोस्टर र प्रोमो शुक्रबार सार्वजनिक गरिएको छ। फिल्म तयार भएपछि प्रचार सामग्रीको रूपमा पोष्टर बनाउने गरिए पनि यो फिल्मको भने निर्माण घोषणासँगै यी सामग्री सार्वजनिक गरिएको हो। फिल्म 'फस्ट लभ'का स्क्रिप्ट लेखक प्रचण्डमान श्रेष्ठलाई निर्देशकका रुपमा प्रवेश गराउँदै सिजीले फिल्म बनाउन लागेको हो।

फिल्ममा कर्म, विनय श्रेष्ठ, रेमन श्रेष्ठ, ऋचा शर्मा, सलोनी राजभण्डारी, रिमा विश्वकर्मा, मेनुका प्रधान लगायतले अभिनय गर्नेछन्। फिल्मको छायांकन सञ्जय लामाले गर्नेछन्।

0 तपाईंको प्रतिकृया लेख्नु होला ।:

Post a Comment