नेपालले अन्नाबाट सिक्नुपर्ने पाठ

Monday, August 22, 2011

यतिबेला भारतका मिडिया अन्नामय भएका छन्। भ्रष्टाचार बिरोधी जनलोकपाल बिधयेक ल्याउन सरकारलाई दवाव दिने उद्देश्यले समाजसेवी अन्ना हजारेले थालेको आन्दोलनले विश्वकै सबैभन्दा ठूलो प्रजातान्त्रिक मुलुकको सरकारलाई नराम्ररी हल्लाइदिएको छ।

यस्तो लाग्छ, भारतका मिडियाका लागि अन्ना बाहेक कुनै अर्को समाचार छैन। अन्ना उठे समाचार, बसे समाचार। हात हल्लाए समाचार।

हुँदाहुँदा अन्नाको रक्तचापमा घटबढ भएको समाचार पनि भारतका समाचारमाध्यमहरुका लागि ‘ब्रेकिङ न्यूज’ बन्छ।


कहिले क्रिकेट बाहेक अरु केही पनि समाचार नदेख्ने भारतीय सञ्चारमाध्यमहरुले आईतवार भारत—ईंगल्याण्डको क्रिकेट म्याचको समेत रिपोर्टिङ गर्न भ्याएनन। भारतले तीन बिकेट गुमाएको समाचार भन्दा काँग्रेस आईका प्रभावशाली नेता कपिल सिब्बलको घर अन्नाका समर्थकले घेरेको बिषय भारतका समाचार माध्यमका लागि ‘ब्रेकिङ न्यूज’ बनिरहेको थियो। २८ रनमा भिभीएस लक्ष्मण आउट भएको समाचारभन्दा भन्दा लालु यादवको छपरास्थित निवासमा अन्नाका समर्थनले गरेको बिरोध प्रदर्शनको समाचार भारतीय टेलिभिजनहरुका लागि ‘स्कुप’ बनिरहेको थियो।

संसारमा यतिबिधि महत्व पाउने सौभाग्य सायदै कसैले पाए होलान्।

 अन्ना एक व्यक्ति मात्र होईनन। अन्ना एउटा आन्दोलनको नाम बन्न पुगेको छ। त्यस्तो आन्दोलन जसमा कुनै उमेरको छेकवार छैन। त्यस्तो आन्दोलन जसमा सबै जाती,बर्ग, सम्प्रदायको सहभागिता छ। त्यस्तो आन्दोलन जहाँ जानलाई कसैलाई कुनै बिचार वा सिद्धान्तले रोकेको छैन। गरिवदेखि धनी सबैको सहभागिता छ। सरकार जुन जुन पार्टीको गठबन्धनमा बनेको छ। त्यही पार्टीका कार्यकर्ता र शुभेच्छुकहरुको पनि सहभागिता छ। भलै उनीहरुको सहभागिताले सरकारलाई नै चर्को दवावमा पारेको छ।

अन्नाको आन्दोलन सफल होला, नहोला? अन्नाले भनेझै भ्रष्टाचार नियन्त्रण गर्ने लोकपाल बील आउला, नआउला? त्यो एउटा पाटो हो।

लोकपाल बील आएपनि त्यस्ले भ्रष्टाचार पुरै नियन्त्रण नगर्न सक्छ। किनकी भ्रष्टाचार जीवन पद्धती बनेको मुलुकमा भनेजसरी त्यसमाथि नियन्त्रण पाउन कठिन हुन्छ। यद्दपि प्रयत्न नगरी पनि त्यसको नियन्त्रण गर्ने कल्पना गर्न सकिन्न।

तर ७४ वर्षको उमेरमा अन्नामा देशबाट भ्रष्टाचार अन्त्य गर्न जुन जोश देखिएको छ। यसले युवाहरुलाई त उर्जा दिन्छ नै। ५० कटेपछि जीवनको उत्तरार्द्धमा पुगेको ठानेर कामबाट अवकाश लिनेहरुलाई समेत काम गरिरहन उत्प्रेरित गर्छ।

उनको आन्दोलनले दिएको अर्को सन्देश हो,अहिंसात्मक आन्दोलनबाटै ठूलो परिवर्तन सम्भव छ।

जसले जनताको मुद्दा उठाउँछ, उसलाई भीड जुटाउन समस्या हुदैन। अन्ना हजारेको आन्दोलनले यो सन्देश पनि दिन्छ।

अनसन बसेर आन्दोलन गर्ने कुरा हामी कहाँ कसैले गर्‍यो भने त्यो हासो मजाकको पात्र बन्छ। शान्तिपूर्ण दवाव वा आन्दोलनका कुरा गर्नेहरु यहाँ अल्पमतमा पर्छन। तोडफोड गर्न हुन्न भन्नेहरु पाखा लगाईन्छन। तर अन्नाले स्पष्ट शब्दमा भनेका छन्, आन्दोलनका क्रममा कसैले राष्ट्रिय सम्पत्ती तोडफोड गर्ने छैन। वा सरकारी सम्पत्तीमाथि क्षति पुर्‍याउने छैन।

त्यस्तो कुनै आन्दोलन छैन, जुन आन्दोलनमा राष्ट्रिय सम्पत्ती क्षति नभएको होस। मान्छे घाईते नभएको होस।

नेपालमा १० जना एक ठाँउमा जम्मा भए आन्दोलनले उग्र रुप लिन्छ। तोडफोड शुरु हुन्छ। बाटो बन्द हुन्छ।

तर लाखौ जनता सडकमा उत्रिँदा पनि अन्ना उत्तेजित भएनन। उनले बरु यसो भने,सडक जाम भएर जनताले सास्ती खेप्नु नपरोस।

हो, त्यही कारण उनले जुलुसमा धेरै समय दिएनन। उनी मुस्किलले फुत्किएर आधा बाटोबाट सिधै महात्मा गान्धीको समाधिस्थल राजघाट पुगे।

जसको पत्तो भारतका ‘सबसे तेज’ भन्ने च्यानलहरुले समेत पाएनन। भीडबाट उनी हराएपछि क्यामराका नजरमा एकै चोटी अन्ना राजघाटमा देखा परे।

अन्नाको आन्दोलन टेलिभिजनमा हेर्ने जो कोही भावुक हुन्छ। गला अबरुद्ध हुन्छ। अझ भारतका टेलिभिजनहरुका हस्तीहरु जो आतंकवादी आक्रमण हुदा पनि धाराप्रवाह रुपमा लाईभ रिपोर्टिङ गर्थे, उनीहरुसंग अन्नाको आन्दोलनको व्याख्या गर्न शब्दको अभाव भएको महशुस टेलिभिजन हेर्नेलाई सहजै हुन्थ्यो। भीड देखेर मिडियाकर्मीहरुको बोली अघि बढ्न सक्थेन। पछिल्लो पुस्ताका कुनै पनि मिडियाकर्मीले यतिबिधि भीड कहिल्यै देखेका थिएनन। कसैले यसलाई अन्नाको अगस्त क्रान्तिका रुपमा ब्याख्या गरेका छन्। कसैले अंग्रेजलाई भारतबाट धपाउदा महात्मा गान्धीले गरेको अहिंसात्मक आन्दोलनसंग तुलना गरेका छन्।

हामी कहाँ आन्दोलनको शुरुवात बाटो जामबाट हुन्छ। अझ हाम्रो नेपाली समाजमा कस्ले कति उग्र भाषण वा कुरा गर्‍यो, वाह त्यसले क्या सही कुरा गर्‍यो भनेर भीड उसैको समर्थनमा ताली बजाउछ।

अझ हामी कहाँ पर्खने बानी कसैको छैन। यहाँ सबैलाई तुरुन्तै परिणाम चाहियो। वर्षौदेखि चूप लागेर बस्ने अनि एकैदिनमा सबै चिज चाहियो भनेर आन्दोलन गरेर तत्काल उपलब्धी हात पर्न सक्दैन।

तोडफोड, चक्काजाम वा राष्ट्रिय तथा व्यक्तिगत सम्पत्तीमा आगजनी गरेर वा क्षति पुर्‍याए मात्र राज्यले सुन्छ भन्ने सोच पालेकाहरुले अन्ना हजारेबाट पाठ सिक्न जरुरी छ।

तर हामी कहाँ युवाहरु तोडफोड र आगजनीका पर्याय बन्दैछन। भारतमा लाखौ युवाहरु अन्नाको आन्दोलनलाई समर्थन गर्दै सडकमा उत्रिएका छन्। तर आन्दोलनलाई सशक्त बनाउने नाममा कसैले पनि तोडफोड वा आगजनी गरेका छैनन।

भारतमै बर्षौदेखि व्यवस्था परिवर्तनका नक्सलवादीहरुले सशस्त्र संघर्ष गरिरहेको छ। भारतका ६ राज्य र १२० भन्दा बढि जिल्लामा नक्सलवादीहरुको प्रभाव छ। तर भारत सरकारका लागि त्यति टाउको दुखाई नक्सलवादीको आन्दोलन भएन, जति अन्नाको गान्धीवादी आन्दोलन टाउको दुखाई बन्यो।

हो, यही हो, अहिंसात्मक आन्दोलनको ताकत। अन्ना हजारेको आन्दोलनलाई भारत सरकार उपेक्षा गरेर अघि बढ्नै सक्तैन। उपेक्षा गरेर अघि बढ्ने धृष्टता गरे, यो सरकार धेरै दिन टिक्न सक्ने छैन।

शान्तिपूर्ण धर्नामा बस्न खोज्दा तिहाड जेलमा हालेका अन्ना हजारेलाई २४ घण्टा पनि थुन्न नसक्नुलाई भारतका सञ्चारमाध्यमले भारत सरकारको हारका रुपमा ब्याख्या गरेका थिए। अझ शुरुमा अन्नाको एउटा पनि माग सुन्न तयार नभएको भारत सरकार उनका सबै माग र शर्त मान्न बाध्य भयो। भारत सरकारले रिहा गर्दा पनि जेलबाट बाहिर नआएका अन्ना आफ्नै मर्जीमा तिहाड जेलबाट बाहिर निस्किए।

अन्नाले लोकपाल बीलका लागि सरकारलाई दवाव दिन अनशन गर्ने धम्की दिईरहदा भारत सरकारले त्यसलाई हल्का ढंग लियो। अनशनमा बस्ने भनिएको दिनको बिहान उनको समर्थनमा उत्रिएका सर्वसाधारणको भीडलाई सरकारका मन्त्रीहरुले सामान्य रुपमा लिए। एक मन्त्रीले त भारतको जनसंख्या १ सय २० करोड भएकोले ८/१० हजार मान्छे अन्नाका पछि लाग्दैमा केही नहुने भन्दै टेलिभिजनमा अन्नाको अहिंसावादी आन्दोलनको अवमूल्यन गरे।

भारत सरकारले पनि अन्ना आन्दोलनले यति व्यापकता पाउला भन्ने सोचेको थिएन।

आज त्यही आन्दोलन भारत सरकारका लागि सर्बाधिक टाउको दुखाईको बिषय बनेको छ।

मन्त्रीहरुको भनाई फेरिएको छ। रवैया फेरिएको छ। अन्ना प्रति कडा टिप्पणी दिने मन्त्रीहरुको भाषा नरम भएको छ।

जनता जागेपछि व्यवस्था परिवर्तन हुन्छ भने मन्त्रीहरुको भाषा परिवर्तन नहुने त कुरै भएन।

जव दलहरु जनताका मुद्दा बिर्सन्छन। सत्ता स्वार्थभन्दा माथि उठ्न सक्दैनन। तब तिनै दललाई भोट हाल्नेहरु चुप लागेर बस्दैनन। अहिले भारतमा भएको पनि त्यही हो। अन्ना कुनै पार्टीका नेता पनि होईनन। न त उनले भविश्यमा कुनै पार्टी नै खोल्ने योजना बनाएका छन्। तर उनको लोकप्रियताका हाराहारीमा कुनै नेता वा पार्टी पुग्न सक्दैनन। भारतमा पछिल्लो समयमा सर्बाधिक चर्चामा रहेका काँग्रेस आईका महासचिव राहुल गान्धीलाई समेत अन्नाले ओझेलमा पारेका छन्।

मुद्दा सही छ, भने त्यसलाई पुरा गर्न वा गराउन राज्यलाई दवाव दिन हिंसात्मक आन्दोलन गर्न आवश्यक हुदैन भन्ने गतिलो पाठ अन्नाले विश्वलाई दिएका छन्।

अझ अर्को कुरा नागरिक समाज पार्टीको चौवन्नी सदस्यता भन्दा जनताको मुद्दाका लागि सडकमा उत्रियो भने,त्यो नागरिक समाज अन्नाको नागरिक समाज जस्तै लोकप्रिय बन्न सक्छ। के नेपालमा त्यस्तो नागरिक समाजको कल्पना गर्न सकिँदैन?

2 तपाईंको प्रतिकृया लेख्नु होला ।:

Saurav said...

Nice post.

subbaparu said...

हैन नेपाल अन्ना भन्दा अगाडी छैन रा ? हैन हाम्रो अख्तियार दुरुपयो निवारण छदै छ नि यस्को उपयोग रा पालना नभएर पो हो त . नेपाल मा संबिधान बिधान ऐन नियम नियमावली त राम्रा राम्रा छन् नि तर पालना कसले गराउने कसले पालना गर्ने पो सवाल हो त ..............

Post a Comment