वैदेशिक रोजगार विभागका अनुसार एक महिनामा बिदेसिएको यो संख्या हालसम्मकै उच्च हो । राजनीतिक स्थिरता कायम हुन नसक्दा मुलुकमै रोजगारीको अवसर सृजना नहुनु र भएका रोजगारीका अवसर पनि बिस्तारै गुम्दै गएकाले पैसा कमाउन बिदेसिनको संख्यामा यस्तो वृद्धि भएको हो ।
विभागको तथ्यांकअनुसार वैशाखदेखि बिदेसिने कामदारको संख्यामा लगातार वृद्धि भइरहेको
छ । यसअघि असारमा सबैभन्दा बढी कामदार बिदेसिएको तथ्यांकलाई साउनको तथ्यांकले तोडेको हो । वैशाखमा २९ हजार २ सय ७१, जेठमा ४० हजार ४ सय ६१ र असारमा ४४ हजार ७ सय १५ जना बिदेसिएका थिए ।
यसरी बिदेसिने नेपाली कामदारका लागि मुख्य गन्तव्यमा मलेसिया र खाडी मुलुक रहेका छन् । साउनमा अघिल्ला महिनामा जस्तै कतारमा सबैभन्दा बढी नेपाली गएका छन् । सन् २०२० मा कतारमा हुन लागेको विश्वकपका लागि पूर्वाधार निर्माणको काम तीव्र गतिमा अगाडि बढेकाले कामदारको माग उच्च भएको र त्यहाँ जानेको संख्या बढेको व्यवसायीहरू बताउँछन् ।
साउनमा सबैभन्दा बढी १५ हजार ७ सय २ जना कामदार कतार गएका छन् । दोस्रो मुख्य गन्तव्य बनेको मलेसियामा यस महिना ९ हजार ६ सय ७२ जना कामदार गएका छन् । तेस्रो गन्तव्य मुलुक साउदी अरबमा ८ हजार ५ सय ३८ जना नेपाली काम गर्न गएका छन् । यस्तै संयुक्त अरब इमिरेट्समा ६ हजार ८ सय ७३ जना गएका छन् । विभागका अनुसार साउनमा कुवेतमा २ हजार ८ सय ८८ जना गएका छन् ।
No comments:
Post a Comment